एजेन्सी, २५ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई पराजित गरेको छ । आईतबार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता सिटीलाई हराउँदै लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएको छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । मोहमद सलाहाले १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए ।
साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । बेर्नाल्डो सिल्भाले ७८ औ मिनेटमा सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए । लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने सिटी २५ अंक सहित चौथो स्थानमा छ ।




