काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ । सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताउनु भयो । एक–दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उहाँले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गर्नुभयो । उहाँले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताउनु भयो ।




