काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गर्दै आएको बताउनुभएको छ ।सोमवार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उहाँले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँकाअनुसार वित्तीय प्रविधिको तिब्र विकासले विश्वव्यापी रूपमा वित्तीय सेवा प्रवाहको परम्परागत शैली परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत तथा प्रभावकारितामा महत्वपूर्ण परिवर्तन ल्याउनेछ । गभर्नर पौडेलले यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता अभिवृद्धि गर्नुका साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट शुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको बताउनु भयो ।
पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रविधिमा मात्र सिमित नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पु¥याउने फिनटेक नवप्रवर्तनलाई समेत प्रोत्साहन गरिरहेको उहाँको भनाई छ ।उहाँकाअनुसार यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्सको कार्यान्वयन तथा ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज २०२६/२७ टु २०३०/३१’ तर्जुमा र कार्यान्वयन अघि बढाएको छ । यी पहलले बैंकिङ तथा वित्तीय क्षेत्रमा नवीन प्रविधिको प्रयोग, नयाँ वित्तीय सेवा तथा व्यावसायिक मोडेलको विकास र वित्तीय सेवा प्रदायक तथा प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्य थप सुदृढ हुने उहाँको विश्वास छ ।गभर्नर पौडेलले फिनटेक नवप्रवर्तनको विकास तथा प्रवद्र्धनमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भुमिका पनि महत्त्वपूर्ण हुने समेत बताउनु भयो । यसका लागि राष्ट्र बैंक र सरकारबीच निरन्तर समन्वय आवश्यक रहेको उहाँको भनाई छ । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास तथा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको बताउँदै उहाँले आगामी दिनमा यस्तो सहकार्यलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग साझेदारी गर्ने सम्भावना रहेको बताउनु भयो ।




