करदाता प्रोत्साहन कार्यक्रम ग्रामीण भेगसम्म पुर्‍याउन क्रिकेटरहरूको सुझाव | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८३, सोमबार

करदाता प्रोत्साहन कार्यक्रम ग्रामीण भेगसम्म पुर्‍याउन क्रिकेटरहरूको सुझाव

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका छन् । सोमवार आयोजित करदाता प्रोत्साहन कार्यक्रममा बोल्दै क्रिकेटर ललितनारायण राजवंशीले सरकारले कर तिर्ने र बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न चालेको कदम सकारात्मक रहेको बताउनुभएको हो । उहाँले व्यक्तिगत रूपमा पनि बिल लिने बानीको महत्व महशुस गरेको अनुभव सुनाउनु भयो । एकपटक रेस्टुरेण्टमा खाना खाँदा एक व्यक्तिले बिलको फोटो खिचिरहेको देखेपछि त्यसबारे जिज्ञासा राख्दा प्यान नम्बर भएको बिल लिएर वेबसाइटमा विवरण प्रविष्ट गरे एक लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने जानकारी पाएको उहाँले बताउनु भयो । यस्ता कार्यक्रमले नागरिकलाई प्रत्येक खरिदविक्रीमा बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहन गर्ने उहाँको भनाइ छ । राजवंशीले करदाता प्रोत्साहन कार्यक्रमबारे सहरी तथा शिक्षित समुदायमा जानकारी फैलिँदै गए पनि ग्रामीण भेगका नागरिकसम्म अझै पर्याप्त सूचना पुग्न नसकेको उल्लेख गर्नुभयो । दैनिक खरिदविक्री गर्ने ग्रामीण क्षेत्रका नागरिकलाई समेत यसबारे जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।क्रिकेटर दिलीप नाथले पनि नागरिकलाई आफूले लिएका बिल सुरक्षित राख्न आग्रह गर्नुभयो ।

बिल सुरक्षित राख्दा भविष्यमा पुरस्कार प्राप्त गर्ने अवसरसमेत हुन सक्ने उहाँको भनाइ छ । अर्का क्रिकेटर लोकेश बमले करदाता प्रोत्साहन कार्यक्रमले बिल लिने र दिने संस्कृतिको विकासमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो । विगतमा कर छलीका विषय सुनिँदै आएको उल्लेख गर्दै उहाँले अहिले नागरिकले बिल माग्ने क्रम बढ्नु सकारात्मक भएको बताउनु भयो । कार्यक्रममा क्रिकेटर राजवंशीले नेपाल प्रिमियर लिग (एनपीएल) लाई पनि समर्थन गर्न नेपाली दर्शकलाई आग्रह गर्नुभयो । सम्भव भएसम्म मैदानमै उपस्थित भएर र अन्य अवस्थामा नेट टिभीमार्फत खेल हेरेर नेपाली क्रिकेटलाई साथ दिन उहाँले अनुरोध गर्नुभयो ।

Leave a Reply

ताजा समाचार