भैरहवाका उद्योगी व्यवसायीलाई करदाता शिक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

भैरहवाका उद्योगी व्यवसायीलाई करदाता शिक्षा

बुटवल । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दशौं राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान रहेको बताए । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह जारी रहेको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताए । उनले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताए ।

कार्यक्रममा लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव जेपी कंडेल, उद्योग व्यापार संगठन रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य कुमार सारू मगर, देवदह चेम्बर अफ कमर्सका अध्यक्ष कोष बहादुर गुरुङ, नेपाल अडिटर्स एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी लगायतले बोल्दै कर प्रशासनले कर शिक्षा दिने समयको रूपमा कर सप्ताहलाई लिएको बताएका थिए । कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);