प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको हो, क्याबिनेट बैठक बसेको होइन : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको हो, क्याबिनेट बैठक बसेको होइन : सञ्चारमन्त्री

gokul

काठमाडौं, १२ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पार्नुभएको हो ।

उहाँले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्ठी जनाउनुभयो ।

उहाँले भन्नुभयो “त्यो कानूनी छ किनभने मन्त्रीपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ एजेण्डा पनि त्यहा कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौ भन्ने प्रमाणित भयो भनेका छौ ।”

भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक
प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले हेलो हाई भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावलि किन संशोधन गरियो भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावलि संशोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेट पनि बस्न सक्ने बताउनुभयो ।

विदेशमा जहाजबाट नै मन्त्रीपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सुचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने तर्क उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “बाँदरको मुटुको अपरेसन किन गरियो ? पहिले मान्छेकोमा गरिएन । किनभने मान्छेकोमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर गरियो । त्यो सफल भएपछि मान्छेकोमा प्रयोग गरियो । त्यसैले भिडियो कन्फरेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिँदैन भनेर प्रयोग गरियो । प्रयोगले सफल देखायो । क्याबिनेट होइन । हामी मन्त्रीपरिषद्का सदस्यहरु जम्मा भएर गरेको हो ।”

मन्त्रीपरिषद् कार्यसम्पादन नियमावलि संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसंग भिडियो कन्फ्रेन्सबाट मन्त्रीपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दै आएका छन् । चौतर्फी विरोध हुँदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको बताउनुभएको हो ।

ताजा समाचार