काठमाडौँ ।
काठमाडौं महानगरपालिकाको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ आयोजना हुने भएको छ ।जलवायु परिवर्तनका स्थानीय असर न्युनिकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास र सहकार्य अघि बढाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र तथा नागरिक समाजलाई एउटै मञ्चमा सहभागी गराइने बताउनु भयो । काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील, समावेशी, स्वस्थ र बस्नयोग्य सहरका रूपमा विकास गर्न साझा कार्यक्रम अघि बढाउने लक्ष्य राखिएको छ । महानगरपालिकाकाअनुसार सहरी क्षेत्रलाई केन्द्रमा राखेर जलवायु परिवर्तनका असर न्युनिकरण तथा व्यावहारिक कार्य थालनी गर्न लागिएको यो नेपालकै पहिलो प्रयास हो । कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीबारे छलफल गर्नुका साथै समुदायको सहभागितामा तत्काल कार्यान्वयन गर्न सकिने विज्ञानसम्मत गतिविधि सञ्चालन गरिने प्रवक्ता मानन्धरले बताउनु भयो । तिब्र शहरीकरणसँगै काठमाडौंले सहरी डुबान, अत्याधिक गर्मी, वायु प्रदूषण, पानीका स्रोतको अभाव तथा फोहरमैला व्यवस्थापनजस्ता चुनौती सामना गरिरहेको छ । यी समस्या समाधानका लागि तीनै तहका सरकार, समुदाय, अनुसन्धानकर्ता, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको महानगरपालिकाले जनाएको छ । कार्य सप्ताहका सात दिन फरक–फरक विषयमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो दिन जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद हुनेछ । यस क्रममा काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, सरकारी निकाय, विज्ञ तथा सरोकारवालाबीच सहरी उत्थानशीलता र साझा प्राथमिकताबारे छलफल गरिनेछ । ‘रिचार्ज काठमाडौं’ अभियान, वायु प्रदूषण न्युनिकरण, वृक्षरोपण र फोहरमैला व्यवस्थापनका अभ्यासलाई पनि प्राथमिकता दिइनेछ ।
दोस्रो दिन जलवायु वित्तका विषयमा छलफल हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषय उठाइनेछ ।तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे कार्यक्रम हुनेछ । ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, परम्परागत हिटी प्रणालीको संरक्षण, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ ।चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनका विषयमा स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहरबाट ऊर्जा उत्पादनबारे छलफल हुनेछ । यसै दिन टेकुस्थित बायोग्यास प्लान्ट उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य दिवसका रूपमा मनाइनेछ । यसअन्तर्गत ५० भन्दा बढी विद्यालयमा फोहर वर्गीकरण, वृक्षरोपण योजना, जलवायु खेल तथा वातावरणीय सचेतनासम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीका नवीन प्रविधि, हरित आविष्कार र इको क्लबका गतिविधि पनि प्रदर्शन गरिनेछ ।यसै अवसरमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीबीच ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सात जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट १० जनालाई ‘काठमाडौं महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ घोषणा गरिनेछ ।छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तनका विषयमा केन्द्रित हुनेछ । सहरी कृषि, परम्परागत बाली, बीउ संरक्षण तथा जलवायु अनुकूल कृषि प्रणालीबारे छलफल गरिनेछ । राष्ट्रिय जीन बैंक, खुमलटारलगायत कृषि क्षेत्र तथा परम्परागत बजारको अवलोकन र कृषकसँग अन्तरक्रिया पनि गरिनेछ ।
सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वबारे छलफल हुनेछ । जलवायु न्याय, पुस्तान्तरणीय जिम्मेवारी, हिमाली क्षेत्रमा हुने क्षति तथा नोक्सानी र जलवायु वित्तका विषय उठाइनेछ । सप्ताहको अन्तिममा सहकार्यको प्रतिबद्धतासहित संयुक्त विज्ञप्ति, आगामी कार्यदिशासम्बन्धी मार्गचित्र र ‘जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि काठमाडौं घोषणा २०८३’ जारी गरिनेछ ।कार्य सप्ताहका क्रममा नेपाल प्रिमियर लिगसँगको सहकार्यमा हरित रंगशाला, शून्य फोहरका खेल दिवस तथा खेलमार्फत जलवायु सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिनेछ । साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोग र वायु प्रदूषण न्यूनीकरणसम्बन्धी अभियान चलाइने महानगरपालिकाले जनाएको छ । त्यस्तै, ‘काठमाडौं इन टेन इयर्स’ नामक खुला डिजाइन प्रतियोगिता, युवा सिर्जनाकर्मीका लागि भिडियो तथा कथावाचन प्रतियोगिता र महानगरका ३२ वटै वडामा सामुदायिक जलवायु चलचित्र प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको छ । महानगरपालिकाले कार्य सप्ताहमार्फत जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नागरिक सहभागिता, संस्थागत प्रतिबद्धता, लगानी परिचालन र व्यावहारिक कार्यान्वयनलाई एकीकृत गर्ने अपेक्षा गरेको छ । यसबाट काठमाडौं उपत्यकालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम र दिगो सहरका रूपमा विकास गर्ने साझा प्रयासले गति लिने महानगरपालिकाको विश्वास छ ।




