काठमाडौँ ।
पार्टी नेतृत्वको कार्यशैलीमा असन्तुष्टी कायमै
नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेता कार्यकर्ताहरुले पार्टीको गुमेको साखलाई फेरि उकास्नेगरि लाग्ने बताएका छन् । आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाएर गुमेको विरासत फिर्ता ल्याउने उनीहरुको दाबी छ । पार्टीलाई पहिलो बनाउन संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध सुधार, समयमै उम्मेदवार छनोट र स्थानीय आवश्यकताअनुसार घोषणापत्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनीहरुको भनाई छ । एमाले निकट युवा संघका अध्यक्ष महाराज गुरुङले विगतका निर्वाचनमा भएका कमजोरीलाई सच्याएर आगामी निर्वाचनमा अगाडी बढ्नेगरि लाग्ने बताउनु भयो । स्थानिय निर्वाचनमा ७५३ वटै स्थानीय तहको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने गरी स्थानीयस्तरबाटै घोषणापत्र निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । वातावरणीय प्रभावका कारण हुने बाढीपहिरो तथा अन्य विपद्को जोखिम व्यवस्थापन, स्थानीय कृषि क्षेत्रको विकास, नमुना गाउँपालिका तथा नगरपालिका निर्माण र जनताको समस्या समाधान गर्नसक्ने नेतृत्व विकासलाई एमालेको चुनावी प्राथमिकता बनाउनुपर्ने उहाँको भनाई छ । विगतको निर्वाचनमा उम्मेदवार छनोटमा कमजोरी भएका कारण पनि पराजय व्यहोर्नुपरेको उहाँले बताउनु भयो । यसपटक स्थानीय कार्यकर्ता र संगठित सदस्यकै सहभागितामा उम्मेदवार छनोट गर्ने तथा विगतभन्दा कम्तीमा एक महिनाअघि नै उम्मेदवार टुंग्याउनुपर्ने उहाँले बताउनु भयो ।
एमाले नेतृ एवं पूर्वसांसद नविना लामाले आगामी निर्वाचनमा पार्टीको जितका लागि संगठनात्मक संरचनालाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । साथै योग्य र जनतामाझ लोकप्रिय उम्मेदवार छनोट गर्नुपर्ने उहाँको भनाई छ । विगतमा पार्टीले जनविश्वास गुमाएको विषयलाई गम्भीर रूपमा समीक्षा गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । उम्मेदवार छनोटमा व्यक्तिगत स्वार्थ, पक्षपात र आर्थिक चलखेल हुन नहुनेमा उहाँले जोड दिनुभयो । कमिटी प्रणालीमार्फत जनतामा लोकप्रिय तथा सामाजिक रूपमा स्थापित व्यक्तिलाई उम्मेदवार बनाउन उहाँले पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । युवा पुस्ता र नयाँ अनुहारलाई अवसर दिन पनि उम्मेदवार छनोट प्रक्रियामा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले गरेका कामले पनि आगामी निर्वाचनमा जित्न सहज हुने बताउनु भयो । प्रतिनिधिसभाको निर्वाचनमा आवेश र आक्रोशको वातावरणका कारण पार्टीले गरेका काम र उपलब्धि जनतामाझ प्रभावकारी रूपमा पु¥याउन नसकेको उहाँको भनाई छ । नेतृत्व र कार्यकर्ताबीचको दूरी घटाउँदै जनतासँगको सम्बन्ध पुनःस्थापित गर्ने गरी पार्टी अघि बढ्ने उहाँको भनाइ छ । आगामी निर्वाचनमा युवाहरूलाई उम्मेदवार बनाउने पार्टीको नीति रहेको उहाँले बताउनुभयो । पार्टीभित्र रहेका मतभेदहरुलाई हटाउँदै आगामी निर्वाचनमा एकजुट भएर लाग्ने उहाँको भनाई छ । विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने काम एमाले बाहेक अरुले गर्न नसक्ने उहाँको दाबी छ ।
एमाले नेता गणेश पहाडीले राष्ट्रिय भेलाले पार्टीभित्र देखिएको बुझाइको विविधतालाई एकरूपता दिँदै स्थानीय निर्वाचनको तयारी लागी मार्ग तय गरेको बताउनु भयो । आफूहरु भेलाको रणनितिअनुसार नै निर्वाचनमा खटिने बताउनुभयो । पार्टी सञ्चालनमा केही कमी कमजोरी भएपनि स्थानिय तहमा रहेका जनप्रतिनिधिले गरेका कामका आधारमा आगामी निर्वाचन पनि सहजै जित्ने उहाँको दाबी छ । उहाँले विगतमा आदेश र निर्देशनका आधारमा पार्टी सञ्चालन गर्ने प्रवृत्तिले भने केही समस्या उत्पन्न गराएको बताउनुभयो । पार्टीलाई सामूहिक नेतृत्व र छलफलको प्रणालीमा फर्काउनुपर्ने उहाँको सुझाव छ ।
एमाले नेतृ टीका ढकालले पार्टीभित्र जनतासँगको भावनात्मक सम्बन्ध कमजोर भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले जनतासंग विग्रिएको सम्बन्धलाई सुधार गर्दै एमालेलाई पहिलो शक्तिको रुपमा विकास गर्ने दाबी गर्नुभयो । उहाँले देशलाई राजनीतिक तथा प्रशासनिक दुर्घटनाबाट जोगाउने क्षमता एमालेसँग मात्रै रहेको बताउनु भयो । बर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको उहाँको भनाई छ ।
एमाले नेता कार्यकर्ताहरुले आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट रहेको बताएपनि पार्टी नेतृत्वप्रति असन्तुष्टी जनाएका छन् । पार्टी नेतृत्वले गर्ने निर्णय सामुहिक नभएको उनीहरुको गुनासो छ । पार्टी नेतृत्वले कार्यशैली सुधार नगरे जनविश्वास उठाउन कठिन हुने उनीहरुको भनाई छ ।




