काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई भरपर्दो नलागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा विदाई गर्दै सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई पत्यार नलागेको बताएका हुन् । त्यस अवसरमा उहाँले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाई मापन गर्न पनि सरकारी टोलीलाई निर्देशन दिए । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाई घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाई छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले आफ्नै कर्मचारीहरुलाई दक्ष बनाएर सगरमाथाको तथ्यपरक उचाई मापन गर्न पठाउन लागिएको जानकारी दिए ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो । विक्रय संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाई घटाएको विभिन्न अडकालबाजी भईरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।




