संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

काठमाडौँ ।

वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिवार वागमती प्रदेश सरकारद्वारा हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा बुझ्न नहुने बताउनु भयो । उहाँले संविधानमा व्यवस्था गरिएका प्रावधानले मुलुकमा रहेका विविधतालाई एकआपसमा जोड्ने बलियो कडीको काम गरेको उल्लेख गर्नुभयो । प्रदेश प्रमुख देवकोटाले वर्तमान संविधानलाई न्यायपूर्ण र समतामूलक समाज निर्माणको मार्गचित्रका रूपमा व्याख्या गर्नुभयो । राष्ट्रिय अखण्डता र एकताको बलियो आधारका रूपमा संविधानले भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । संविधान कार्यान्वयनको एक दशक लामो यात्रामा राजनीतिक नेतृत्वबाट त्रुटि र कमीकमजोरी भएको उल्लेख गर्दै उहाँले शासन सञ्चालनका क्रममा भएका कमजोरीलाई संविधानको दोषका रूपमा पन्छाउनु उचित नहुने बताउनु भयो । राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ । संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यतालाई कायम राख्दै कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि हुन नदिन सचेत रहनुपर्नेमा प्रदेश प्रमुख देवकोटाले जोड दिनुभयो । राज्यका संयन्त्रमा जिम्मेवारी सम्हाल्नेहरूले अधिकारभन्दा कर्तव्य र दायित्वलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनु भयो । सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता भाषणमा मात्र सीमित नभई नागरिकले दैनिक जीवनमा अनुभूति गर्न पाउनुपर्ने प्रदेश प्रमुख देवकोटाको भनाइ छ ।

समारोहलाई सम्बोधन गर्दै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयनमा देखिनुपर्ने बताउनु भयो । संविधानमा सुनिश्चित गरिएका अधिकार नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्न पाउनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री थापाले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा उल्लेख गर्नुभयो । नागरिकमा रहेको असन्तुष्टिलाई आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी काममार्फत सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो । संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानुन निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था संघीयता सुदृढीकरणका आधार भएको उहाँले उल्लेख गर्नुभयो ।समारोहमा नेवा सांस्कृतिक पुचः हेटौँडा, श्री छोर्वा बोन्बो तथा डम्फु सेलो संस्था र चेपाङ संघ मकवानपुरले स्थानीय भेषभूषा र संस्कृति झल्काउने झाँकी प्रश्तुत गरेका थिए । नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

Leave a Reply

ताजा समाचार