प्रतिनिधिसभामा सांसदको प्रश्न गृहमन्त्रीको जवाफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधिसभामा सांसदको प्रश्न गृहमन्त्रीको जवाफ

गृहमन्त्री रामबहादुर थापा

काठमाडौं, २९ भदौ । सरकारले कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या लगायतका मुलुकभरका घटनाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट बोल्दै गृहमन्त्री राम बहादुर थापाले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका हत्या लगायतका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षति लगायत बारेमा संघीय संसदका दुवै सदनलाई जानकारी गराएका छन् ।

उनले सबै किसिमका अपराधमा संलग्नलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । पन्तको घटनाबारे सरकार गम्भीर रहेको र भविश्यमा पनि अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रतिबद्ध रहेको उनले सदनलाई आश्वस्त तुल्याए ।

उनले मुलुकमा शान्ति सुरक्षा र स्थिरता कायम गर्न सबै किसिमका अपराध नियन्त्रण गरि जनतालाई सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता जाहेर गरे ।

निर्मला पन्तको बलात्कार पछि हत्याको सम्बन्धमा गृहमन्त्रालयले भदौ ७ गतेको बैठकको निर्णय अनुसार उच्चस्तरीय छानविन समिति गठन गरेको र सो समितिले अध्ययन गरिरहेको भन्दै घटनाको छानविन तथा विस्तृत अनुसन्धान जारी रहेको स्पष्ट पारे । अनुसन्धानको सम्बन्धमा कहि कतै लापरवाही र गल्ती भएको पाईए उनीहरुमाथि पनि कारवाही हुने गृहमन्त्रीले प्रतिवद्धता जाहेर गरे ।

घटना छानविन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा सत्यता नभएको उनको दबी थियो । सुरक्षाको दृष्टिकोणले समितीबाट अलग भएको भनि राजीनामा दिएको भनिए पनि सरकारले छाविन समितिका सदस्यको सुरक्षाको प्रत्याभुति गराउने आश्वासन दिए पछि सदस्य पुन काममा फर्किएको उनले बताए ।

बर्दियाका राममनोहर यादवको अनुसन्धानको क्रममा प्रहरी हिरासतमै राखिएका बेला एक्कासि विरामी भएको र उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । मेडिकल रिपोर्टले यादवको मृत्यु यातनाबाट नभई रोगको कारण भएको देखाएको गृहमन्त्रीले स्पष्टीकरण दिए।

बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका १ का संगिन जिसीकोको मृत्यु हत्या नभई आत्म हत्या भएको प्रारम्भीक मेडिकल रिपोर्ट आएको उनले बताए । जिसी काठमाडाैँ महानगरपालिका वडा नम्बर १५ स्थित स्वयम्भु पछाडिको जंगलमा क्षतविक्षत अवस्थामा मृत अवस्थामा फेला परेका थिए ।

तरुण दलका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यामा संलग्नलाई निन्त्रणमा लिईएको पनि उनले सदनलाई जानकारी गराए । सुलीचौर स्थित एक रेष्टुरेण्टमा दुई समुहबीच आपसी विवाद पछि देव वहादुर घर्ती मगरले चलाएको पेस्तोलबाट एक राउण्ड गोली प्रहार गर्दा रोहित पुन मगर घाईते भएको र उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

उनले घटनामा संलग्न देव बहादुर घर्ती मगर सहित केहीलाई पक्राउ गरिएको बताए । पेस्तोल एक थान र गोली एक राउण्ड सहित नियन्त्रणमा लिएको उनलाई थप अनुसन्धान र कारावाही प्रक्रिया अघि बढेको बताए ।

खोज तलास डट कम र खोज तलास साप्ताहिकका अध्यक्ष एवं प्रधान सम्पादक राजु बस्नेतमाथि काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र सहित मुद्दा दायर गरिएको उनले जानकारी दिए । उनले भने बस्नेतले जनप्रतिनिधि कि जग्गा दलाल भन्ने शीर्षक राखि भदौ २१ गते सांसद फम्फा भुसाल र सांसद राजकाजी श्रेष्ठको समेत फोटो राखि अपमान एवं हैरानि हुने गरि समाचार प्रकाशित गरेकाले विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ र ४९ अनुसार हदैसम्मको कारवाही गरि पाउ भनि शुशिल खनालले भदौ २२ गते गरेको जाहेरी अनुसार कारवाही प्रक्रिया अघि बढाईएको बताए ।

गृहमन्त्री थापाले राजधानीको बबरमहलमा पुर्व राजदुत केशर झाको हत्या, मोरङ्ग जिल्लाको लेटाङ्गमा विद्यालयको पानी ट्याकिमा विषाधि मिसाएको, सांसद निरु देवी पालमाथि भएको आक्रमण लगायतका घटनाको प्रहरीले अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाइरहेको जानकारी गराए । प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे पनि उनले सदनलाई जानकारी गराएका छन् ।

प्रश्नोत्तर

गृहमन्त्रीको जवाफमा केन्द्रीत रहेर सांसदहरुले प्रश्न गरेका थिए । कांग्रेस सांसद गगन कुमार थापाले प्रहरीले निर्मला पन्तको हत्याका सम्बन्धमा अनिता बम र रोशनी बमलाई सोधपुछ गर्न साथमा लिएको अवस्थामा जनतासंग प्रधानमन्त्री कार्यक्रममा निश्पक्ष छानविनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्रीले बम दिदीबहिनीका बारेमा अभिव्यक्ति दिएको भन्दै त्यसबारे प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो भनि गृहमन्त्रीलाई प्रश्न गरे ।

सांसद अमरेश कुमार सिंहले उच्चस्तरीय छानविन समितिका सदस्य विरेन्द्र केसीले शक्तिशाली अपराधिबाट जुनसुकै पनि आफ्नो हत्या हुन सक्ने बताएकाले त्यसबारे गृहमन्त्रीको जवाफ माग गरे ।

सांसद भरत कुमार शाहले छानविन समितिको प्रतिवेदनको विश्वसनियताको आधार दिन माग गरे । त्यसैगरी पत्रकार खोजतलास पत्रिकाका बस्नेतमाथि लगाईको आरोपमाथि छानविन भएको छ कि छैन भनी प्रश्न गरे ।

सांसद संञ्जयकुमार गौतमले गृहमन्त्रीले गोलमोटल जवाफ दिएको भन्दै छानविन समितिका सदस्य विरेन्द्र केसीलाई राजीनामा दिन बाध्य बनाउने शक्तिका बारेमा जानकारी गराउन माग गरे ।

सांसद रंगमति शाहीले निर्मला हत्या प्रकरण पत्ता लगाउन कति बर्ष लाग्छ भनी प्रश्न गरिन् ।

सांसद विन्दा पाण्डेले रौतहटमा जनप्रतिनिधि नै हिंसात्मक गतिविधिको मेलमिलाप गराउन लागेको भन्ने बारे गृहप्रशासनले के कारवाही गरेको छ भनी जवाफ माग गरिन् ।

राजेन्द्र लिङ्गदेनले निर्मला पन्तको हत्या प्रकरणमा सुरुमै अनुसन्धानमा संग्लन भएकालाई नै खास अभियुक्त थाहा भएको भन्दै गलत मान्छेलाई अभियुक्तको रुपमा पेश गर्नेमाथि नै अनुसन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । प्रारम्भीक अनुसन्धान अधिकारीमाथि नै अनुसन्धान गरियोस् भनी उनले माग गरे ।

सांसद पार्वति डिसी चौधरीले सरकारले निर्मला पन्तको हत्या प्रकरणमा जनतालाई सत्य तथ्य सार्वजनिक गर्नु भन्दा पनि नाटक देखाउने काम मात्रै गरेको आरोप लगाए ।

सांसद बालकृष्ण खाँडले निर्मला पन्तको हत्या प्रकरणका दोषिलाई उन्मुक्ति दिने र ढाकछोप गर्ने क्रियाकलाप सरकारबाट भईरहेको भन्दै छानविन समितिका सदस्यलाई धम्की दिनेलाई सार्वजनिक गर्न माग गरे ।

सांसद सुजाता परियारले गृहमन्त्रीको जवाफबाट निर्मला पन्तका हत्यारालाई कानुनी कारवाही हुनेमा विश्वस्त हुन नसकिएको भन्दै हत्यारा कहिलेसम्म पत्ता लाग्छ भनी प्रश्न गरिन् ।

सांसद दिलेन्द्र प्रसाद बडुले छानविन समितिका सदस्य विरेन्द्र केसीले पीडितले न्याय पाउने संभावना नदेखको र आफुलाई शक्तिशाली केन्द्रबाट धम्की आएको बताएकाले घटना छानबिन गर्न सजिलो बनाएको बताए ।

सांसद सिता देवी यादवले गृहमन्त्रीको जवाफ सन्तोषजनक नभएको टिप्पणी गरिन् । महोत्तरीमा ८ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषिलाई सरकारले अहिले सम्म खोजी गर्न नसकेको भन्दै सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्रीलाई आग्रह गरे ।

सांसहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले प्रधानमन्त्रीले नै हत्या प्रकरणको छिटो परिणाम सम्म पुर्याउन निर्देशन दिएकाले प्रधानमन्त्रीको अभिव्यक्तिले छानबिनमा असर नपुर्याउने दाबी गरे । छानविन समितिका सदस्यलाई धम्की दिने शक्तिशाली व्यक्तिका बारेमा गृहमन्त्रीले भने “छानबिन गर्ने क्रममा एक जना शक्तिशाली देखिने ठूलै जीउ डालको मान्छे बाईकमा आएको र उनले तपाईले जे छानविन गर्दै हुनुहुन्छ । त्यो राम्रै गर्दै हुनुहुन्छ । तर यस्ता छानविन धेरै भए र ती छानविन गर्नेहरुलाई गाडी माथि लगाएर तिनीहरुको हत्या हुने गरेको पनि तपाईले सम्झिनुहोला भनेर भने रे, त्यसैले उहाँको शक्तिशाली मान्छे चाही त्यही हुनुपर्छ । नाम चाही मलाई थाहा छैन ।”

गृहमन्त्री थापाले पन्त हत्याको घटनाबारे छानविन भईरहेकाले छिटै त्यसको परिणाम आउने आश्वासन दिए ।

बर्दियाका राममनोहर यादवको मृत्युबारे गृहमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै राजपाका सांसदहरुले उभिएर विरोध गरेपछि सभामुखले सो घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने प्रतिवद्धता जनाए । सभामुखको प्रतिवद्धता पछि मात्रै बैठक सुचारु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);