सदनलाई गृहमन्त्रीको जवाफ–‘अपराधी पत्ता लगाउन समय लाग्न सक्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सदनलाई गृहमन्त्रीको जवाफ–‘अपराधी पत्ता लगाउन समय लाग्न सक्छ’

grihamantri thapa

काठमाडौं, २४ माघ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन समय लाग्न सक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सांसदका प्रश्नको जवाफ दिँदै थापाले सरकार हत्यारा पत्ता लगाउन प्रयत्नशील रहेको बताए ।

झन्डै ७ महिनासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । सांसद–मन्त्री प्रश्नोत्तरका क्रममा कांग्रेसकी डिला संग्रौलाले सरकारले हत्यारा संरक्षण गरेको आरोप लगाउँदै जवाफ मागेकी थिइन् ।

गृहमन्त्री थापाले सरकारले यस विषयमा गम्भीर अनुसन्धान जारी राखेको बताए । ‘महिला हिंसा सम्बन्धमा नेपाल प्रहरीले ९५ प्रतिशत अपराधीलाई कठघरामा ल्याएको छ,’ उनले भने, ‘४–५ प्रतिशतलाई कानुनको कठघरामा ल्याउन सरकार प्रयत्नशील छ । केही केसमा अपराधी पत्ता लाग्न समय लाग्छ, यो घटनाले पनि समय लिएको छ । सरकार छिटोभन्दा छिटो पत्ता लगाउन प्रयत्नशील छ ।’

अपराधीलाई सिंहरदरबारमै संरक्षण गरेर राखेको भन्ने आरोपको उनले खण्डन गरे । ‘जोसुकै भए पनि अपराधी कानुनको कठघरामा आउँछ,’ उनले भने । अनुसन्धानमा लापरबाही गर्नेलाई कारबाही गरिसकिएको उनले बताए । बालकृष्ण खाँड र देवेन्द्रराज कँडेलले इन्काउन्टर गरेर अपराधी मार्ने बढ्दो प्रवृत्तिबारे सोधेका थिए ।

खाँडले अपराधीलाई पक्राउ गरेर कारबाही गर्नुपर्नेमा इन्काउन्टर गराउने गरेको घटना सम्झाए । उनले इन्काउन्टरको आदेश कसले दिन्छ भन्ने प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले परिस्थिति अनुसार प्रहरीले आत्मरक्षाका लागि त्यस्तो अवस्था आउने बताए ।

राप्रपाका राजेन्द्र लिङदेनले यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पन्तका हत्यारा पक्राउ गर्ने अवस्थामा पुगेको अभिव्यक्ति दिएको तर अहिलेसम्म पक्राउ नपरेको बारे प्रश्न गरेका थिए ।

उपप्रधानमन्त्री जस्तो व्यक्तिले बिनातथ्य, हचुवाका भरमा बोलेको भन्दै उनले यस विषयमा गृहमन्त्रीसँग जवाफ मागेका थिए । नेकपाका महेश बस्नेतले प्रहरीले महिला हिंसाका अपराध सम्बन्धी मुद्दामा ९५ प्रतिशत सफलता हासिल गरेको भन्ने मन्त्रीको धारणाको समर्थन गर्दै उक्त काम सफलतापूर्वक गरेकामा प्रशंसा गरे ।

सांसदसँगको प्रश्नोत्तरमा बुधबार गृहमन्त्री थापा, अर्थमन्त्री युवराज खतिवडा, महिला, बालाबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र वनमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित थिए ।

उनीहरूलाई आफ्नो विषयसँग सम्बन्धित प्रश्न सांसदले गरेका थिए । अर्थमन्त्रीलाई सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने योजना कहाँ पुगेको छ भन्ने प्रश्न सांसदले गरेका थिए ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);