संसदमा गृहमन्त्री रामबहादुर थापाको जवाफ, कसले के प्रश्न गरे ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

संसदमा गृहमन्त्री रामबहादुर थापाको जवाफ, कसले के प्रश्न गरे ?

काठमाडौं, २३ माघ । सरकारले मुलुकभरका हत्या प्रकरणमा गम्भीर रहेको भन्दै अपराधिलाई कानुनी कठघरामा ल्याउने गरि अनुसन्धान जारी राखेको जनाएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै गृहमन्त्री रामबहादुर थापाले मुलुकभरका आपराधिक घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

निर्मला हत्या प्रकरण पासविक हत्याकाण्ड र जघन्य अपराध भएको भन्दै सो घटनाप्रति सरकार गम्भीर रहेको र अनुसन्धान जारी रहेको उनले जानकारी दिए । पन्त हत्याको सम्बन्धमा अनुसन्धानमा लागेका प्रहरीको लापरवाहीमा संलग्नलाई कारवाही गरिसकेको भन्दै उनले दोषिलाई कानुनको कठघरामा ल्याउन आफु प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले अनुसन्धानले केही समय लागे पनि अपराधीलाई कानुनको काठघरामा ल्याई पीडितलाई न्याय दिन राज्य प्रतिवद्ध रहेको बताए ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले समग्र मुलुकभरको शान्ति सुरक्षा, कंचनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्या लगायत विभिन्न स्थानमा भएका हत्या प्रकरणमा संलग्नलाई पत्ता लगाउने र कारवाही गर्ने काममा भएको प्रगतीबारे गृहमन्त्री थापासंग प्रश्न राखेका थिए ।

प्रश्नकर्ता सांसदहरुले पन्त हत्या प्रकरणसंगै अछाम, काठमाडौंको काँडाघारी हत्यामा संलग्न भएको भन्दै प्रहरीबाट भएको इन्काउण्टर र मोरङको लेताङस्थित एक विद्यालयको खानेपानी ट्यांकीमा विष हाल्ने अपराधीलाई कानुनी कठघरामा कहिले ल्याईन्छ भनि जिज्ञासा राखेका थिए।

ती प्रश्नमा गृहमन्त्री थापाको जवाफ अधिकांश पुरानै थिए । यसअघि संसदलाई जानकारी गराएको विषयलाई नै उनले दोहोर्याएर पेस गरे ।

सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरि मुद्दा किन चलाईएको छैन भनी प्रश्न गरेकी थिइन् । मन्त्रीको जवाफ चित्त बुझ्दो नभएपछि उनले पुरक प्रश्न गरेकी थिइन् ।

उनले प्रश्न गर्दै भनिन् “सरकारका अनुसन्धानका निकायहरुले प्रमाण किन नष्ट गरे ? निर्दोषिलाई दोषि प्रमाणित गर्ने प्रयास बारम्बार सरकारले गर्यो । आजसम्म पनि अपराधी कहाँ लुकेका छन् ? जनता प्रश्न गरिरहेका छन् । त्यसैले जनताको प्रश्न गृहमन्त्रीलाई फेरी सोध्न चाहन्छु । निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबाका कुर्चीमा छन् कि कहाँ छन् सत्य तथ्य सदनमा जवाफ दिनुपर्यो । ”

सांसदहरु गगन थापा, दिलेन्द्र प्रसाद बडू, राजेन्द्र प्रसाद लिंङदेन, सुजाता परियार र महेश बस्नेतले पुरक प्रश्न गरेका थिए ।

सांसद गगन थापाले सरकारका उपप्रधान एवं रक्षामन्त्रीले हत्यारा पत्ता लागिसकेको र छिटै जानकारी गराउँछु दिन गनेर बस्नुहोला भन्नुभएकोबारे गृहमन्त्रालयले कसरी लिएको छ ? भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री थापाले त्यसबारे जानकारी नभएको र भन्नुभएको भए पनी कानुनी कठघरामा ल्याउने सरकारको स्पीडलाई भन्नुभएको होला भनी आफुले बुझेको स्पष्ट पारे ।

दिलेन्द्र प्रसाद बडूले हत्यारा पत्ता लगाईयोस् भन्दै न्यायको माग गर्दै अनसन बस्नेहरुलाई गृहमन्त्रालयले प्रलोभन दिने र धम्क्याउने काम भईरहको प्रति गृहमन्त्रालयको जवाफ माग गरेका थिए । मन्त्री थापाले त्यस्तो नभएको र भएको पाए अनुसन्धान गर्ने जवाफ फर्काए ।

सांसद राजेन्द्र प्रसाद लिंङदेनले पन्तको हत्या प्रकरणमा प्रारम्भमा सुचना दिने क्रममा गृहमन्त्रीले अपराधी पत्ता लागिसकोे जानकारी गराएको तर अहिले सम्म अपराधी कहाँ छ भन्ने सरकारलाई थाहा नभएको भन्दै अनुसन्धान नसकिँदै सरकारले कोही निर्दोष व्यक्ति प्रति धारणा बनाउन मिल्छ भनि प्रश्न गरे ।

सांसद सुजाता परियाले पन्त हत्या प्रकरणको अनुसन्धान कहिले सम्म हुन्छ र बास्तविक हत्यारा कहिले सम्म पत्ता लाग्छ ? भनी प्रश्न गरिन् ।

सांसद महेश बस्नेतले निर्मला पन्त हत्या प्रकरण मानवअधिकारवादी र मिडियाका लागि गरिखाने विषय र प्रतिपक्षीको लागि राजनीति गर्ने विषय भएको भन्दै दिलिप सिंह विष्टलाई एसपी बनाएर त्यहाँ राखिरहने तात्कालिन नेतृत्वको साथीहरुप्रति पनि अनुसन्धानलाई केन्द्रीत गर्न आग्रह गरे ।

सांसद रामबहादुर विष्टको प्रश्नको उत्तरमा भने गृहमन्त्री थापाले यसअघि संसदलाई दिएको जानकारी नै हुबहु राखेका थिए । सांसद रामबहादुर विष्टले अछाम जिल्लाको बगलसैनमा ७ महिना अघि हत्या गरिएका १९ बर्षिय नवराज विष्टको अपराधी पत्ता लगाई कारवाही कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए ।

सांसद राजेन्द्र कुमार केसीले घटनाको अनुसन्धानको क्रममा धेरै निरअपराधीलाई नियन्त्रणमा लिई कठोर यातना दिई अंगभंग गरेको भन्दै त्यस कार्यमा संलग्नलाई कारवाही गरि राज्यले पीडितलाई राहत उपलब्ध गराउँछ कि गराउँदैन भनि पुरक प्रश्न गरेका थिए ।

सांसद देवेन्द्रराज कँडेलले २०७५ साउन २१ गते काठमाडौंको काँडाघारीमा निसान तामाङ्गको अपहरण पछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ्ग र अजय तामाङ्गमाथि भएको इन्काउण्टरको बारेमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

गृहमन्त्री थापाले काठमाडौंको काँडाघारीमा निसान खड्काको अपहरणपछि हत्यामा संलग्न भएको भनिएको गोपाल तामाङ्ग र अजय तामाङ्ग प्रहरी इन्काण्टरमा मृत्यु भएको पुरानै भनाई राखेक थिए ।

सांसद बालकृष्ण खाँडले इन्काण्टरको आदेश कसले दिने हो ? भनी गरेको पुरक प्रश्नमा मन्त्री थापाले आत्मरक्षाका लागि प्रहरीले प्रयोग गर्न सक्ने भएकाले इन्काण्टरको आदेश माथिबाट दिइरहनु नपर्ने बताए ।

सांसद घनश्याम खतिवडाले श्रावण २९ गते मोरङको लेताङस्थित श्री मावि जातेको खानेपानी ट्याकीमा विष हाल्ने अपराधी पत्ता लगाउने सवालमा के भईरहेको छ भन्ने प्रश्नमा गृहमन्त्री थापाले अनुसन्धान जारी रहेको जवाफ दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);