ग्रासरुट अभियान चलायौँ तर जनतासँग संवाद गरेनौँः एमाले महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार

ग्रासरुट अभियान चलायौँ तर जनतासँग संवाद गरेनौँः एमाले महासचिव पोखरेल

काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताकोबीचमा जानेगरि विभिन्न अभियान संचालन गरेपनि जनतासँग प्रभावकारी संवाद गर्न नसकेको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रश्तुत गर्दै उहाँले जनतासँग सम्बन्ध विस्तार गर्न असफल भएको बताउनुभएको हो । उहाँले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान र ग्रासरुट अभियान सञ्चालन भएपनि ती अभियानमा जनतासँग संवाद गर्ने काम पर्याप्त हुन नसकेको बताउनु भयो । हाल पार्टीका अभियानहरू औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेको उहाँको भनाई छ । त्यसलाई नसुधारे आगामी निर्वाचनमा पनि अपेक्षित परिणाम हासिल गर्न नसकिने उहाँले बताउनु भयो । जनतासँगको संवाद टुटेकै कारण पार्टीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकेको र निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको उहाँले बथाउनु भयो । जनतासँग संवाद गर्ने काम गर्न नसकेसम्म जनाधार फिर्ता गर्न नसकिने उहाँको भनाई छ । पार्टी बलियो बनाउन जनताबीचमा जानुपर्ने उहाँले बताउनु भयो । पोखरेलले विगतको निर्वाचनअघि पार्टीका नेताहरूले गरेको परिणामसम्बन्धी आकलन र वास्तविक नतिजाबीच ठूलो अन्तर देखिएको समेत उल्लेख गर्नुभयो । महासचिव पोखरेलले आगामी निर्वाचनको तयारीका लागि स्थानीय राजनीतिक शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनका परिणाम विश्लेषण गरी पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्नुपर्ने उहाँको भनाई छ । साथै विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव, स्थानीय मुद्दा, जनसन्तुष्टि र सम्भावित चुनावी प्रभावको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

उम्मेदवार आफैँ छनोट गर्नुस्, चुनाव पनि जिताएर देखाउनुस्
महासचिव पोखरेलले उम्मेदवार छनोटका विषयमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले अब उम्मेदवार छनोट आफैँ गर्न र आफूले छनौट गरेका उम्मेदवारलाई जिताउने जिम्मेवारी पनि लिन आग्रह गर्नुभयो । उहाँले उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानभन्दा जनमत सर्वेक्षण र व्यापक सुझाव संकलनमा आधारित वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न केन्द्रदेखि पालिकासम्मका कमिटी सक्रिय बनाउनुपर्ने बताउनु भयो । विशेषगरी पालिका तहमा पार्टी संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमितिहरु बनाउनुपर्ने उहाँको प्रश्ताव छ । साथै उहाँले पार्टीका सबै कमिटी र सदस्य परिचालित भए–नभएको अनुगमन गर्न छुट्टै संयन्त्र गठन गर्न आवश्यक रहेको बताउनु भयो । निर्वाचनमा प्रचार अभियानलाई परम्परागत र डिजिटल गरी दुई भागमा विभाजन गर्दै डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply