काठमाडौँ ।
निजामती कर्मचारी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार गरिने भएको छ । अस्पतालको नेत्ररोग विभागलाई स्तरोन्नति गर्दै शल्यक्रियासहितको सेवा विकास गर्न लागिएको हो । अस्पतालमा बुधवार आयोजित तीनदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको उद्घाटन कार्यक्रममा मुख्यसचिव गोविन्दबहादुर कार्कीले चीन सरकार, लाइफलाइन एक्सप्रेस, तियानजिन मेडिकल युनिभर्सिटी र नेपालस्थित चिनियाँ दुतावासको सहयोगमा अस्पतालको नेत्ररोग विभागको क्षमता विस्तार गर्न लागेको जानकारी दिनुभयो । अस्पतालमा हालसम्म सामान्य आँखा परीक्षणको सुविधा मात्रै उपलब्ध रहेको उल्लेख गर्दै उहाँले अब मोतियाबिन्दुको उपचार तथा शल्यक्रिया सेवा स्थायी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँकाअनुसार चीन सरकारको सहयोगमा करिव दुई दशकअघि स्थापना भएको निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीसँगै सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालको भौतिक पूर्वाधार र सेवा सुविधाको विकासमा चीनको निरन्तर सहयोग महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले अस्पतालको सेवा गुणस्तर सुधार र पूर्वाधार विस्तारका लागि व्यवस्थापन समिति आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले हाल अस्पताल विस्तारका लागि जग्गाको अभाव रहेको बताउनुभयो । अस्पतार विस्तारको लागि जग्गा खोजी भईरहेको उल्लेख गर्दै उहाँले जग्गा प्राप्त भएपछि भवन तथा अन्य चिकित्सा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालको तेस्रो चरणको विस्तारका लागि पनि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनु भयो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियारले तीनदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरले दृष्टिसम्बन्धी समस्या भएका बिरामीलाई प्रत्यक्ष लाभ पु¥याउने जानकारी दिनुभयो । चीनको लाइफलाइन एक्सप्रेस, चिनियाँ दूतावास, तियानजिन मेडिकल युनिभर्सिटी र तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । डा. परियारकाअनुसार शिविरको तयारी, बिरामी पहिचान, प्राविधिक मार्गदर्शन, आवश्यक उपकरण तथा सामग्री व्यवस्थापन र जनशक्ति परिचालनमा तिलगंगा आँखा प्रतिष्ठानले सहयोग गरेको छ । अस्पतालको नेत्ररोग विभागमा सीमित पूर्वाधार, उपकरण र जनशक्ति रहेकाले शिविर सञ्चालन गर्न विभिन्न संस्थाको सहकार्य आवश्यक परेको उहाँले बताउनु भयो ।
कार्यकारी निर्देशक परियारले अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्न नेपाल–चीन स्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार अस्पतालको तेस्रो चरणको विस्तार परियोजना कार्यान्वयन भएमा करिब ५०० देखि ६०० शैय्याको क्षमतासहितको आधुनिक अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ । यसबाट निजामती कर्मचारीसँगै सर्वसाधारण नागरिकले थप विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उहाँले बताउनु भयो । कार्यक्रममा चीनको लाइफलाइन एक्सप्रेस, चिनियाँ दूतावास, तियानजिन मेडिकल युनिभर्सिटी, नेपाल मेडिकल काउन्सिल, तिलगंगा आँखा प्रतिष्ठान तथा अस्पतालका विभिन्न विभाग र एकाइका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




