काठमाडौँ ।
चीनले नेपालको पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि सडक, जलविद्युत, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिवद्धता जनाएको छ । बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु समारोहमा बोल्दै नेपालस्थित चिनियाँ दुतावासका मिनिस्टर काउन्सिलर झाओ पानले नेपालसँगको पूर्वाधार सहकार्यलाई थप गहिरो बनाउने बताउनुभएको हो । उहाँले चीन र नेपालबीचको सम्बन्ध असल छिमेकी तथा साझेदारका रूपमा स्थापित रहेको उल्लेख गर्दै पूर्वाधार विकास दुई देशबीचको सहकार्यको महत्वपूर्ण आधार भएको बताउनु भयो । चीनले बेल्ट एण्ड रोड सहकार्यलाई उच्च गुणस्तरमा अघि बढाउने उद्देश्यसहित पारस्परिक परामर्श, संयुक्त योगदान र साझा लाभको सिद्धान्तअनुसार नेपालसँग जलविद्युत तथा सडक पूर्वाधारका महत्वपूर्ण आयोजनामा सहकार्य गरिरहेको उहाँले उल्लेख गर्नुभयो । मिनिस्टर काउन्सिलर झाओले आगामी दिनमा पूर्वाधार, सम्पर्क सञ्जाल, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा चिनियाँ दुतावासले पुलको भुमिका निर्वाह गर्ने बताउनु भयो । दुवै देशका जनताको हितका लागि थप ठोस परियोजना अघि बढाउन चीन तयार रहेको उहाँको भनाइ छ ।
महादेवटार सुरुङको ब्रेकथ्रुलाई ऐतिहासिक उपलब्धिको संज्ञा दिँदै उहाँले यसले द्रुतमार्गको उक्त खण्ड निर्माणमा महत्वपूर्ण प्रगति भएको र आयोजना अन्तिम चरणमा पु¥याउन आधार तयार गरेको बताउनु भयो । हिमालयको दक्षिणी फेदीमा निर्माण भइरहेको महादेवटार सुरुङ काठमाडौं–तराई द्रुतमार्गको महत्वपूर्ण संरचना हुनुका साथै नेपालमा हाल निर्माणाधीन सबैभन्दा लामो राजमार्ग सुरुङ भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले सुरुङ निर्माणमा संलग्न नेपाली तथा चिनियाँ इन्जिनियर, प्राविधिक र श्रमिकहरूको मेहनत तथा दक्षताको प्रशंसा गर्दै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको प्रतिवद्धता र व्यावसायिक क्षमताको प्रशंसा गर्नुभयो ।चिनियाँ राजदुत चेन सोङको तर्फबाट ब्रेकथ्रु सफल भएकोमा बधाई दिँदै उहाँले नेपाल–चीनबीचको मित्रता र रणनीतिक सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । साथै नेपालको विकास र समृद्धिको कामना गर्नुभयो ।





