काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टी जनाउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताउनुभएको हो । उहाँले दजनौँ पार्टी मिलाएर ठूलो कमिटि भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताउनु भयो । मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उहाँको भनाई छ । पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेकोले उहाँले बताउनुभयो । केन्द्रीय समितिसहित तल्ला तहका कमिटीहरूमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उहाँको दाबी छ ।
उहाँले कम्युनिष्ट पार्टीका संगठनहरु चुस्तदुरुस्त हुनुपर्ने बताउनु भयो । उहाँले पार्टी नेताहरुमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप लगाउनु भयो । पदप्राप्ती र पद मोहका कारण कम्युनिष्ट आन्दोलन विघटनउन्मुख अवस्था पुगेको उहाँको भनाई छ । उहाँले महाविधेशनका लागि आवश्यक साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पु¥याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका कार्यमा पनि ढिलाई भएको बताउनु भयो ।उहाँले पछिल्लो राष्ट्र सबैभन्दा बढी संकटमा परेको बताउनु भयो । राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पनि सुदृढ बनाउनुपर्ने अवस्था आएको उहाँको भनाई छ । वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।




