कविना बलामी,काठमाडौा । नेपाल प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक विविधता तथा ऐतिहासिक सम्पदाले सम्पन्न मुलुक हो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि धार्मिक तथा सांस्कृतिक पर्यटन महत्वपूर्ण आधार भएका कारण सरकारको नीति, निजी क्षेत्रको लगानी र नागरिकको सहभागिता एकसाथ अघि बढेमा धार्मिक तथा सांस्कृतिक पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र राष्ट्रिय पहिचान सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्न सक्छ ।
सदाको बर्षझै यस बर्ष पनि वडा दसैं हामी सबैको घर–आँगनमा आइसकेको छ । यसपाली आम नेपालीहरुको महान चाड विजयादशमी विभिन्न प्राकृतिक प्रकोपका कारण त्यति उल्लासमय भने बन्न सकेको छैन् । तरपनि विपदलाई विर्सिएर घर–घरमा, गाउँ–टोलमा दशैंको बेग्लै रौनक छ । चाडपर्वले हाम्रो मूल्य र मान्यताको इतिहास बोकेको हुन्छ । हरेक चाडपर्वलाई सामाजिक सद्भावसँग जोड्ने संस्कार र संस्कृति पुर्खाहरुले हामीलाई सिकाएर गएका छन् । दशैं र तिहारजस्ता चाडपर्वहरू नेपाली संस्कृतिका प्रमुख धरोहर नै हुन् । यी पर्वहरूले नेपाली समाजलाई प्राचीनकालदेखि नै भावनात्मक रूपमा जोड्ने, सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने र सामाजिक सद्भाव बढाउने काम गर्दै आएका छन् । हिमाल, पहाड र तराईको भौगोलिक विविधतासँगै नेपालमा रहेका प्राचीन मन्दिर, गुम्बा, जात्रा तथा विभिन्न धार्मिक–सांस्कृतिक परम्पराले देशलाई पर्यटनका दृष्टिले विशेष बनाएका छन् ।
धार्मिक तथा सांस्कृतिक पर्यटन नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा विकास हुँदै आएको छ । नेपाल आउने पर्यटकहरू केवल हिमाल आरोहण, पदयात्रा र प्राकृतिक दृश्यका लागि मात्र सीमित छैनन् । पछिल्लो समय धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक पर्यटनप्रति पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी धार्मिक स्थलमा आउने पर्यटकले स्थानीय संस्कृति, कला, वास्तुकला, परम्परा र जीवनशैलीलाई समेत नजिकबाट बुझ्ने अवसर पाउने भएकाले धार्मिक पर्यटनले नेपालको समग्र पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥र्याएको छ । त्यसैले यस्ता स्थलको विकास गर्दा आधुनिक पूर्वाधार निर्माणसँगै मौलिकता र ऐतिहासिक महत्वलाई जोगाउन पर्छ । मन्दिर तथा सम्पदा क्षेत्रमा अत्यधिक व्यावसायीकरण, अव्यवस्थित निर्माण, फोहोर व्यवस्थापनको कमजोरी र सम्पदाको उचित संरक्षण नहुनुले पर्यटनमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले पर्यटन विकास र सम्पदा संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता छ ।
नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित र दिगो बनाउन सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । धार्मिक तथा सांस्कृतिक स्थलमा पुग्ने पर्यटकले सहज र सुरक्षित यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको प्रमुख जिम्मेवारी हो । त्यसैगरी सरकारले देशभित्र रहेका धार्मिक तथा सांस्कृतिक गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचार–प्रसार गर्न आवश्यक छ ।पर्यटन विकासमा सरकार मात्र जिम्मेवार हुँदैन । नागरिक तथा स्थानीय समुदायले पनि सरसफाइ, आतिथ्य, संस्कृति संरक्षण र जिम्मेवार पर्यटनमा सक्रिय भूमिका खेल्नुपर्छ । नेपालले पर्यटकको संख्या मात्र बढाउने नभई गुणस्तरीय, दिगो र जिम्मेवार पर्यटन विकास गर्ने नीति लिन आवश्यक छ ।





