पर्यटनले देशको अर्थतन्त्र, संस्कृति र वातावरणमा गहिरो प्रभाव पार्छ । तर यसको सही व्यवस्थापन बिना सम्भावना नै संकटमा बदलिन पनि सक्छ । त्यसैले जिम्मेवार यात्राको अभ्यास आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
–मोहनप्रसाद मैनाली
मानिसले आफ्नो स्थायी बसोबासको स्थानभन्दा बाहिर कुनै निश्चित समयका लागि घुमफिर, अवलोकन, अध्ययन, व्यवसायिक भेटघाट, सांस्कृतिक आदान–प्रदान वा मनोरञ्जनका उद्देश्यले गर्ने यात्रा र त्यसमार्फत सिर्जना हुने समग्र गतिविधि, सेवा र अनुभवहरूको समग्र रुपनै पर्यटन हो । पर्यटनलाई घुम्ने कार्यमा मात्रै सीमित नगरी आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय आयामसँग जोडेर हेर्नुपर्छ । वास्तवमा पर्यटन एक बहुआयामिक उद्योग हो जसले यातायात, आतिथ्य, हस्तकला, कृषि, सूचना प्रविधि, सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय रोजगारी जस्ता क्षेत्रलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभावित गर्छ ।
प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण नेपालका लागि पर्यटनको सम्भावना अत्यन्त विशाल छ । हिमाल, पहाड, तराईका भौगोलिक विविधता, विश्वप्रसिद्ध हिमशृंखला, जैविक विविधता, बहुभाषिक र बहुसांस्कृतिक समाज, प्राचीन सम्पदा र धार्मिक आस्थाका केन्द्रहरूले नेपाललाई अद्वितीय गन्तव्य बनाएका छन् । तर सम्भावना मात्र पर्याप्त हुँदैन, त्यसलाई दिगो र जिम्मेवार ढङ्गले उपयोग गर्न नसकिएमा पर्यटन नै समस्या बन्न सक्छ ।
जिम्मेवार यात्रा भन्नाले पर्यटक, पर्यटन व्यवसायी, स्थानीय समुदाय र सरकार सबैले मिलेर पर्यटन गतिविधिलाई यस्तो ढङ्गले सञ्चालन गर्नु हो जसले वातावरणको संरक्षण, स्थानीय संस्कृतिको सम्मान, आर्थिक लाभको न्यायोचित वितरण र सामाजिक सद्भाव कायम राखोस् । यस अवधारणाले पर्यटकलाई उपभोक्ता नभइ सचेत सहभागीको भूमिकामा राख्छ । प्राकृतिक क्षेत्र भ्रमण गर्दा फोहर नफ्याँक्ने, स्थानीय परम्परा र संस्कृतिको सम्मान गर्ने, स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिने र वातावरणमैत्री सेवाको छनोट गर्ने व्यवहार जिम्मेवार यात्राका आधारभूत तत्व हुन् ।
पर्यटनको तीव्र विस्तारले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय पहिचान वृद्धिलगायतका धेरै सकारात्मक उपलब्धिहरू ल्याएको छ । तर यसका नकारात्मक पक्षहरू पनि कम छैनन् । अनियन्त्रित पर्यटनले प्राकृतिक स्रोतको दोहन, प्रदूषण, जैविक विविधताको क्षति, सांस्कृतिक पहिचानको विकृति र स्थानीय समुदायको जीवनशैलीमा असन्तुलन ल्याउन सक्छ । विश्वका विभिन्न लोकप्रिय गन्तव्यहरूमा अत्यधिक पर्यटनका कारण स्थानीय बासिन्दा र पर्यटकबीच द्वन्द्व बढेको उदाहरणहरू प्रशस्त छन् । यसले प्रष्ट देखाउँछ कि दिगोपनाको सिद्धान्तबिना पर्यटन दीर्घकालीन रूपमा लाभदायी रहन सक्दैन ।
नेपालको सन्दर्भमा पनि यही चुनौती देखिन्छ । केही चर्चित गन्तव्यहरूमा अत्यधिक भीडभाड, फोहर व्यवस्थापनको समस्या, पर्यावरणीय क्षति र असन्तुलित विकासका संकेतहरू देखिन थालेका छन् । यदि यस्ता समस्यालाई समयमै सम्बोधन गरिएन भने पर्यटनको आकर्षण घट्न सक्छ । त्यसैले पर्यटन नीतिहरू निर्माण गर्दा संख्याभन्दा गुणस्तरमा जोड दिनु आवश्यक छ । कम संख्यामा आएका पर्यटकबाट उच्च मूल्य र दीगो लाभ प्राप्त गर्ने रणनीति आजको आवश्यकता हुनसक्छ ।
जिम्मेवार यात्राको प्रवद्र्धनमा स्थानीय समुदायको भूमिका केन्द्रमा रहन्छ । समुदायलाई पर्यटनको प्रत्यक्ष लाभ प्राप्त हुने व्यवस्था गरिनु पर्दछ, जसले गर्दा उनीहरू आफ्नो संस्कृति, परम्परा र प्राकृतिक स्रोतको संरक्षणमा सक्रिय हुन्छन् । सामुदायिक होमस्टे, स्थानीय पथप्रदर्शक, हस्तकला र कृषि उत्पादनको बजार विस्तार जस्ता पहलहरूले पर्यटनलाई समावेशी बनाउँछन् । जब स्थानीयले पर्यटनलाई आफ्नो अवसरका रूपमा देख्छन्, तब मात्र दिगोपनाको आधार बलियो बन्छ ।
सरकार र निजी क्षेत्रले प्रष्ट नीति, प्रभावकारी कार्यान्वयन र दीगो पूर्वाधार विकासमा ध्यान दिनु आवश्यक छ । वातावरणीय प्रभाव मूल्यांकन, फोहर व्यवस्थापन प्रणाली, सुरक्षित यातायात, डिजिटल सूचना प्रवाह र आपतकालीन सेवा सुदृढीकरण जस्ता पक्षहरू पर्यटन विकासका आधारस्तम्भ हुन् । साथै, पर्यटकलाई जिम्मेवार व्यवहारबारे सचेत गराउने अभियानहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।
पर्यटन क्षेत्र आर्थिक गतिविधि मात्र होइन । मानव अनुभव, सांस्कृतिक आदान–प्रदान र प्रकृतिसँगको सम्बन्धको माध्यम पनि हो । यसको दिगोपनाले मात्र यसको दीर्घकालीन महत्व सुनिश्चित गर्न सक्छ । पर्यटनलाई सचेत, जिम्मेवार र दिगो ढङ्गले विकास गर्न सकिएन भने यसको सम्भावना संकटमा पर्न सक्छ । सही दृष्टिकोण अपनाइयो भने पर्यटनले देशको समृद्धि मात्र होइन, प्राकृतिक र सांस्कृतिक धरोहरको संरक्षणमा पनि अमूल्य योगदान पुर्याउन सक्छ ।





