पाकिस्तानको राजधानी इस्लामावादस्थित ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’ (पीआईएमएस) को प्रसूति वार्डमा बुधवार बिहान भीषण आगलागी हुँदा कम्तीमा १४ नवजात शिशुको मृत्यु भएको छ । प्रहरी स्रोतकाअनुसार अस्पतालको तेस्रो तलामा रहेको प्रसूति वार्डमा स्थानीय समयअनुसार बिहान करिब ६ः४० बजे आगलागी भएको थियो । सो वार्डमा शिशुहरूलाई उपचारका लागि राखिएको अवस्थामा आगलागी सुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ । आगलागी भएलगत्तै अस्पताल प्रशासन, दमकल, एम्बुलेन्स र प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेका थिए । उद्धारकर्मीहरूले वार्डबाट केही शिशुहरूलाई सुरक्षित बाहिर निकाल्न सफल भए पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ । स्रोतका अनुसार ९ जना शिशुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य ५ जनाको बाल वार्डमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरु गर्नुका साथै घटनामा भएको क्षतिको थप विवरण संकलन गरिरहेको जनाएको छ ।




