हनुमान ढोका दरबार क्षेत्र : बाह्य पर्यटन प्रवर्द्धनकाे आधार स्तम्भ | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

हनुमान ढोका दरबार क्षेत्र : बाह्य पर्यटन प्रवर्द्धनकाे आधार स्तम्भ

काठमाडौंको हनुमान ढोका दरबार क्षेत्र नेपालको सांस्कृतिक पहिचान, कलात्मक सम्पदा र धार्मिक आस्थाको जीवित दस्तावेज हो । ऐतिहासिक धरोहर रहेको यस क्षेत्रले बाह्य पर्यटनलाई दिगो रूपमा विस्तार गरी नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याएको छ ।

-माेहनप्रसाद मैनाली
नेपालमा बाह्य पर्यटन आगमनका लागि असोज, कात्तिक र मंसिर महिनालाई ‘सुनौलो मौसम’ का रूपमा लिइन्छ । सुखद मौसम, खुला आकाश र पर्वतीय तथा ऐतिहासिक सम्पदाहरू अवलोकन गर्न अनुकूल समय भएकाले यस अवधिमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्ने गर्दछ । विशेषगरी काठमाडौं उपत्यकाका प्राचीन मन्दिर, गुम्बा, दरबार तथा सांस्कृतिक स्थलहरूप्रति विदेशीहरूमा ठूलो आकर्षण देखिन्छ । तीमध्ये काठमाडौंस्थित हनुमान ढोका दरबार क्षेत्र नेपाली कला, संस्कृति र इतिहासको विशिष्ट प्रतीकका रुपमा पर्यटकहरूका लागि अविस्मरणीय गन्तव्यको रूपमा उभिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रले नेपालको गौरव बढाउने र बाह्य पर्यटनलाई विस्तार र स्थायित्व दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

हनुमान ढोका दरबार क्षेत्रलाई काठमाडौं उपत्यकाको सांस्कृतिक केन्द्रका रुपमा लिन सकिन्छ । यहाँका दरबार, प्राचीन मन्दिरहरू, देवदेवीका मूर्ति, काष्ठकला, धातुकला, १७ औँ शताब्दीका निर्माण शैली तथा ऐतिहासिक संरचनाहरू आफैंमा अद्वितीय छन् । विदेशी पर्यटकहरू यहाँका कलात्मक झ्याल, टुंडाल, स्तम्भ, ढोकाको मूर्तिकला तथा परम्परागत दरबार संरचनामा नेपालको संस्कृति देख्छन् । उनीहरूका लागि यो क्षेत्र केवल ऐतिहासिक अवलोकन मात्र होइन, नेपालकै सांस्कृतिक जीवनशैली, धार्मिक आस्था र परम्परागत सामाजिक संरचनाको प्रत्यक्ष अनुभव भएकाले हनुमान ढोका दरबार क्षेत्र बाह्य पर्यटकहरूका लागि अनिवार्य गन्तव्य बनेको छ ।

यस्तो सांस्कृतिक सम्पदाको अवलोकनले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ । पर्यटन नेपालका केही उद्योगहरूमध्ये दुर्लभ रूपमा विदेशी मुद्राको स्थिर आयस्रोत मानिन्छ । दरबार क्षेत्रमा चहलपहल बढेसँगै होटल, रेस्टुरेन्ट, टुर गाइड सेवा, क्युरियो पसल, स्थानीय हस्तकला व्यवसाय तथा फुटपाथ व्यापारसम्म सक्रिय हुन्छन् । थाङ्का चित्रकला, काष्ठकला वा साना सजावटी वस्तु बेच्ने उद्योगी तथा व्यापारीका लागि पर्यटन मौसम आयको मुख्य आधार हो । पर्यटकको एक दिनको खर्चले स्थानीय अर्थतन्त्रमा ठूलो हलचल ल्याउने भएकाले हनुमान ढोका दरबार क्षेत्र आर्थिक क्रियाशीलताको केन्द्र बनेको छ ।

हनुमान ढोका दरबार क्षेत्रमा सवारी आवागमन बन्द भएपछि वातावरणीय तथा सांस्कृतिक वातावरण थप सुन्दर बनेको छ । प्रदूषणको चपेटाबाट मुक्त क्षेत्र, मन्दिर परिसरमा गुञ्जिने घण्टी, स्तब्ध संरचनाहरूबीच घुमिरहेका पर्यटकहरुले शान्तिको अनुभव प्राप्त गर्न सक्छन् । यातायात निषेधित क्षेत्र बनेपछि ध्वनि प्रदूषण, भीडभाड, तथा जोखिम कम भएको छ । यसले पर्यटकहरूलाई अवलोकन, फोटोग्राफी तथा गाइड सुन्न सहज वातावरण प्रदान गरेको छ । विश्व सम्पदा क्षेत्रका लागि स्वच्छता, सुरक्षा र शान्त वातावरण अनिवार्य शर्त हुन्, विश्व सम्पदा सूचीका सृचिकृत हनुमान ढोका दरबार क्षेत्रले यो दिशामा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।

तरपनि यस महत्वपूर्ण सम्पदा क्षेत्र संरक्षण र प्रवद्र्धनको चुनौतीविहीन छैनन् । भूकम्पपश्चात् पुनर्निर्माणका कतिपय संरचनाहरू अझै पुरा हुन बाँकी छन्, कतिपय मन्दिर अझै कमजोर अवस्थामा छन् । कतिपय ठाउँमा व्यवस्थापनहीन भीड अझै चुनौतीका रूपमा देखिन्छन् । विश्व सम्पदा क्षेत्रको संरक्षण सरकारी जिम्मेवारी मात्र होइन; स्थानीय समुदाय, व्यापारी, पथप्रदर्शकलगायत सबैको दायित्व हो । सांस्कृतिक सम्पदा सुरक्षित राख्न नसक्ने हो भने पर्यटन उद्योगको दिगोपनामा गम्भीर असर पर्न सक्छ ।

हनुमान ढोका दरबार क्षेत्र केवल ईँट र काठको संरचना मात्र होइन; यो नेपालको इतिहास, पहिचान, परम्परा र सांस्कृतिक चेतनाको सजीव संग्रहालय हो । यसलाई संरक्षण गरी थप पर्यटनमैत्री वातावरण विकास गर्न सक्यौं भने विदेशी पर्यटकको आगमन बढ्नुका साथै नेपालले विश्व सामु आफ्नो सांस्कृतिक पहिचानलाई बलियो रूपमा देखाउन सक्छ । हनुमान ढोका दरबार क्षेत्र समग्र नेपालको गौरवको प्रतिबिम्व भएकाले सबै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकायहरूले थप सुरक्षित, सफा र व्यवस्थित बनाउन आवाश्यक छ ।

Leave a Reply