काठमाडौँ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निजी क्षेत्रसंगको सहकार्यमा सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्ने बताउनुभएको छ ।
आईतवार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमुलक तालिम केन्द्रको उद्घाटन गर्दै उहाँले बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरि रोजगारीसँग जोड्ने बताउनुभएको हो । सीपयुक्त जनशक्ति नहुँदा हाल युवाले रोजगारी र रोजगारदाताले दक्ष जनशक्ति पाउन नसकेको उहाँले बताउनु भयो । उहाँले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउनु भयो । उहाँले तालिम केन्द्रहरुमार्फत युवाहरुलाई सीप सिकाएर बजारको मागअनुसार रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । सीप विकासलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । उहाँले रोजगारदाता तथा उद्योगी व्यवसायीलाई प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्न र सीपयुक्त युवालाई रोजगारीमा जोड्न आग्रह गर्नुभयो । तालिम केन्द्रको सफलता तालिम लिने व्यक्तिको संख्यामा मात्र सिमित नराखी तालिमपछि रोजगारी प्राप्त गर्ने, उद्यम सुरु गर्ने र आयआर्जनमा सुधार ल्याउने व्यक्तिको संख्याको आधारमा मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले मन्त्रालयले सीपयुुक्त जनशक्ति निर्माण गरी स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ काम गरिरहेको बताउनु भयो । साथै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने युवालाई पनि दक्ष, सुरक्षित तथा मर्यादित श्रमिकका रूपमा पठाउने उल्लेख गर्नुभयो । उहाँले हालै शुभारम्भ गरिएको प्रशिक्षण केन्द्रले गुणस्तरीय तालिममार्फत दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, युवालाई तालिममा सहभागी हुन र सीप विकासका अवसरको उपयोग गर्न प्रोत्साहित गर्न उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । सीपयुक्त युवा, सम्मानित श्रम, सिर्जनशील उद्यम र समृद्ध नेपाल निर्माण साझा सङ्कल्प हुनुपर्ने उहाँको भनाई छ ।




