इजिप्टको गिजा प्रान्तमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । दुर्घटनाको कारण बनेको आरोपमा प्रहरीले एक जना कार चालकलाई पक्राउ गरेको छ । बुधवार गिजा प्रान्तको रिङरोडमा कारले इन्धन ट्याङ्करलाई ठक्कर दिएपछि ट्याङ्कर पल्टिएर आगलागी भएको थियो । घटनाबारे अनुसन्धान गरिरहेको इजिप्टको सरकारी अभियोजन कार्यालयले बिहीवार चालकलाई पक्राउ गरिएको जनाएको छ । अभियोजन कार्यालयका अनुसार सोधपुछका क्रममा चालकले आफूले प्रतिघण्टा ११० किलोमिटरको गतिमा गाडी चलाइरहेको र अन्य सवारीसाधनलाई उछिन्ने क्रममा लेन परिवर्तन गरिरहेको स्वीकार गरेका छन् । सोही क्रममा उनको कारको अगाडिको बायाँ भागले ट्याङ्करको पछाडिको दायाँ भागमा ठक्कर दिएको थियो । ठक्करका कारण ट्याङ्करको एउटा टायर पड्किएपछि नियन्त्रण गुमाएको ट्याङ्कर सडकको कङ्क्रिट बारमा ठोक्किएर पल्टिएको अभियोजन कार्यालयले जनाएको छ । ट्याङ्कर पल्टिँदा त्यसमा रहेको पेट्रोल सडकमा पोखिएर आगलागी भएको थियो । आगलागीमा परी ठूलो मानवीय क्षति भएको हो । घटनापछि सरकारी अभियोजन कार्यालयले दुर्घटनाबाट भएको भौतिक तथा अन्य क्षतिको मूल्याङ्कन गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ । यसैबीच, इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबौलीले बिहीवार अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । उनले पीडितलाई उच्चतम सम्भव स्वास्थ्य उपचार उपलब्ध गराउन तथा मृतक र घाइतेका परिवारलाई अधिकतम सम्भव क्षतिपूर्ति उपलब्ध गराउन सामाजिक ऐक्यवद्धता मन्त्रालयसहित सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् ।




