जापानका प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले आणविक हतियारसम्बन्धी नीतिमा परिवर्तन गर्न खोजेको भन्दै नागरिक समूहले विरोध प्रदर्शन गरेको छ । राजधानी टोकियोमा आयोजित प्रदर्शनमा सहभागीहरूले जापानको तीन प्रमुख सुरक्षा दस्तावेज संशोधन गर्ने क्रममा तीन गैरआणविक सिद्धान्तलाई कमजोर बनाउने तथा आणविक ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने सरकारी योजनाको विरोध गरेका हुन् । प्रदर्शनमा जापान कांग्रेस अगेन्स्ट एन्ड एच बम्सका सहअध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसदस्य तेत्सुओ कानेकोले जापानको तीन गैरआणविक सिद्धान्तको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै यसलाई कुनै पनि अवस्थामा कमजोर पार्न नहुने बताए । उनले जापानमा राष्ट्रिय महत्त्वका नीतिगत निर्णय मन्त्रिपरिषद्को निर्णयबाट मात्रै गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । संसद्लाई बेवास्ता गर्दै मन्त्रिपरिषद्को निर्णयमार्फत तीन गैरआणविक सिद्धान्त परिवर्तन गर्ने सरकारको प्रयासले जापानी लोकतान्त्रिक संस्थामाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो । त्यस्तै, सोसल डेमोक्रेटिक पार्टीकी अध्यक्ष मिजुहो फुकुशिमाले तीन गैरआणविक सिद्धान्त जापान सरकारको आधारभूत नीति भएकाले कुनै पनि अपवादबिना कायम राख्नुपर्ने बताइन् । ती सिद्धान्त उल्लंघन गर्नु आणविक हतियार उन्मूलन गर्ने लक्ष्यबाट जापान पछि हट्नु भएको उल्लेख गर्दै उनले यसले आणविक निशस्त्रीकरणका पक्षमा प्रतिबद्ध अन्तर्राष्ट्रिय समुदायलाई नकारात्मक सन्देश दिने बताइन् । नागरिक आणविक सूचना केन्द्रका महासचिव हाजिमे मात्सुकुबोले जापानले आणविक ऊर्जाबाट चल्ने पनडुब्बी प्राप्त गरेमा आणविक हतियारको प्रसारसम्बन्धी चिन्ता बढ्नुका साथै अन्तर्राष्ट्रिय समुदायमा जापानको विश्वसनीयतामाथि समेत गम्भीर असर पर्ने बताए । जापानमा पछिल्लो समय आणविक नीतिसम्बन्धी बहस तिब्र बन्दै गएको छ । रक्षामन्त्री सिन्जिरो कोइजुमीले आणविक ऊर्जाबाट चल्ने पनडुब्बी भित्र्याउने विषयमा छलफल गर्दा कुनै पनि विकल्प अस्वीकार नगरिने बताउँदै आएका छन् । प्रधानमन्त्री ताकाइचीले पनि यसै वर्ष अक्टोबरमा संसद्मा सम्बोधन गर्दै जापानको आत्मरक्षा बलले त्यस्ता पनडुब्बी प्राप्त गर्ने सम्भावनालाई ठोस र व्यावहारिक ढंगले विचार गरिने बताएकी थिइन् । यसैबीच, जापानी सञ्चारमाध्यमहरूले सरकारले यसै वर्षको अन्त्यसम्ममा राष्ट्रिय सुरक्षा रणनीति संशोधन गर्दा आपत्कालीन अवस्थामा आणविक हतियार जापानमा ल्याउन अनुमति दिने गरी तीन गैरआणविक सिद्धान्तमा अपवादको व्यवस्था गर्नेबारे विचार गरिरहेको समाचार सार्वजनिक गरेका छन् । सरकारको यस्तो तयारीले जापानको आणविक नीतिमा परिवर्तन आउन सक्ने भन्दै त्यहाँका नागरिक समूह तथा राजनीतिक दलहरूले विरोध र चिन्ता व्यक्त गर्दै आएका छन् ।





