जापानमा शान्तिवादी संविधान संशोधन गर्ने सरकारको कदमविरुद्ध टोकियोमा हजारौँको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

जापानमा शान्तिवादी संविधान संशोधन गर्ने सरकारको कदमविरुद्ध टोकियोमा हजारौँको प्रदर्शन

जापान सरकारले देशको शान्तिवादी संविधान संशोधन गर्न र सैन्य क्षमता विस्तार गर्न चालेको कदमको विरोधमा मंगलबार साँझ टोकियोमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।क जापानको संसद् भवन (नेसनल डाइट बिल्डिङ) अगाडि भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अवलम्बन गरेका पछिल्ला सुरक्षा र रक्षा नीतिहरूको कडा विरोध गरेका हुन् । आयोजककाअनुसार उक्त प्रदर्शनमा करिब १० हजार मानिसको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले सरकारले संविधानको मूल मर्मलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै सैन्य विस्तारका योजनाहरू तत्काल रोक्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागी युकी होशिनोले जापानी जनताले संविधान संशोधन नचाहेको बताउँदै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरिन् । त्यस्तै, अर्का प्रदर्शनकारी र्योसुके तान्जीले जापानको विगतको युद्धकालीन इतिहास स्मरण गर्दै फेरि कहिल्यै युद्धको बाटोमा लाग्न नहुनेमा जोड दिए । ¥यालीमा सहभागी केइयो विश्वविद्यालयका प्राध्यापक इमेरिटस हिरोशी ओनिशीले सरकारको सैन्य सुदृढीकरण अभियान जापानी संविधानको शान्तिवादी सिद्धान्तविपरीत भएको टिप्पणी गरे । उनले सिन्ह्वासँग कुरा गर्दै सरकारका यस्ता गतिविधिहरू रोकिनुपर्ने बताए ।

जापानी सञ्चारमाध्यमका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले देशका तीनवटा प्रमुख राष्ट्रिय सुरक्षा दस्तावेजहरू परिमार्जन गर्ने प्रस्ताव तयार पारेको छ । उक्त प्रश्तावमा जापानको हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्ने, लामो दूरीका मिसाइल बोक्न सक्ने आधुनिक पनडुब्बीहरू तैनाथ गर्ने र ‘प्रतिकारात्मक क्षमता’ (काउन्टरस्ट्राइक क्यापेबिलिटीज) बढाउने जस्ता विषयहरू समावेश गरिएको छ ।सन् १९४७ देखि लागू भएको जापानको वर्तमान संविधानको धारा ९ ले राष्ट्रिय अधिकारका रूपमा युद्धलाई त्याग्ने र अन्तर्राष्ट्रिय विवाद सुल्झाउन बल प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यसै प्रावधानका कारण यसलाई ’शान्तिवादी संविधान’ भनिन्छ । प्रधानमन्त्री ताकाइची र जापानका अन्य दक्षिणपन्थी शक्तिहरूले लामो समयदेखि धारा ९ संशोधनको वकालत गर्दै आएका छन् । प्रधानमन्त्रीले यसै वर्ष संविधान संशोधनको पक्षमा पटक–पटक अभिव्यक्ति दिएपछि जापानी नागरिक र विभिन्न सामाजिक क्षेत्रमा यसको तीव्र विरोध भइरहेको छ ।

Leave a Reply