इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक सङ्कट समाधानका लागि विदेशी हस्तक्षेपमुक्त र लिबियाली जनताकै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएका छन् । बिहीवार इजिप्टको राजधानी कायरोमा सम्पन्न तीन देशका विदेशमन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घको अग्रसरतामा सुरु गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय निर्वाचन सम्पन्न गर्न आग्रह गरिएको छ ।
ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनैपनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड दिएका छन् । लिबियामा भइरहेका हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरूले सबै संवद्ध पक्षलाई अधिकतम संयम अपनाउन र तनाव नबढाउन अपिल गरेका छन् । विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औंल्याउँदै सबै विदेशी सेना, सशस्त्र लडाकु र भाडाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ । सन् २०११ मा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबिया निरन्तर राजनीतिक अस्थिरता र विभाजनको शिकार हुँदै आएको छ । हाल यो देश दुई प्रतिद्वन्द्वी प्रशासनमा विभाजित छ— त्रिपोलीस्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘राष्ट्रिय एकता सरकार’ र कमान्डर खलिफा हफ्तर नेतृत्वको ‘लिबियाली राष्ट्रिय सेना’ समर्थित पूर्वी प्रशासन ।बैठकले आगामी त्रिपक्षीय वार्ता अल्जेरियामा आयोजना गर्ने निर्णय गरे पनि त्यसको मिति भने तय हुन बाँकी छ ।




