लिबियाका कार्यवाहक विदेशमन्त्री ताहिर अल–बाउर र सिरियाका विदेश मामिला प्रमुख असद हसन अल–शिबानीबीच आईतवार त्रिपोलीमा द्विपक्षीय हित र कुटनीतिक सम्बन्ध विस्तारका विषयमा महत्वपूर्ण भेटवार्ता भएको छ । लिबियाली परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई देशका अधिकारीहरूबीच आपसी चासोका विषय, लिबिया–सिरिया सम्बन्धलाई अगाडि बढाउने उपाय र द्विपक्षीय समन्वय एवं परामर्शलाई सुदृढ गर्नेबारे विस्तृत छलफल भएको छ । यस वार्ताको मुख्य उपलब्धिका रूपमा लिबियाको राजधानी त्रिपोलीमा सिरियाली दूतावास पुनः सञ्चालनमा आएको छ । विगत १४ वर्षदेखि बन्द रहेको उक्त दूतावास आइतबारदेखि नै सञ्चालनमा आएको हो। दूतावासको पुनरागमनले दुई देशबीचको कूटनीतिक सञ्चारलाई मजबुत बनाउने र कन्सुलर सेवाहरूलाई सहज तुल्याउने अपेक्षा गरिएको छ । भेटका क्रममा लिबिया–सिरिया संयुक्त उच्च समितिलाई सक्रिय बनाउन आवश्यक प्रक्रियाहरू पूरा गर्ने र यसको कार्य सञ्चालनलाई व्यवस्थित गर्न एक सम्झौतामा हस्ताक्षर समेत गरिएको छ । यस सम्झौताले आर्थिक, विकास र साझा चासोका अन्य क्षेत्रमा सहकार्यका व्यापक सम्भावनाहरू खोल्ने मन्त्रालयले जनाएको छ ।
सिरियाली विदेश प्रमुख असद हसन अल–शिबानीले यस भ्रमणले सिरिया र लिबियाबीचको सम्बन्ध विकासमा नयाँ गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार दुवै पक्ष क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा राजनीतिक समन्वय बढाउन र सामुन्द्रिक एवं हवाई यातायात सम्पर्कलाई पुनः सुचारु गर्ने मार्गचित्रमा सहमत भएका छन् ।
त्यसैगरी, लिबियाका कार्यवाहक विदेशमन्त्री ताहिर अल–बाउरले यसै वर्षको अन्त्य वा नयाँ वर्षको शुरुवातसम्ममा उच्च समितिको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले आर्थिक, राजनीतिक र सुरक्षाका क्षेत्रमा दुवै देशका साझा स्वार्थ रहेको उल्लेख गर्दै आपसी परामर्शलाई थप सघन बनाइने बताउनु भयो ।
भ्रमणकै सिलसिलामा अल–शिबानीले लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाहसँग पनि भेटवार्ता गरी द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको थियो । सिरियामा बसर अल–असदको सरकार ढलेपछि सिरियाली उच्च अधिकारीले लिबियाको भ्रमण गरेको यो १४ वर्षयताकै पहिलो पटक हो । सन् २०१२ मा लिबियाको तत्कालीन राष्ट्रिय सङ्क्रमणकालीन परिषद्ले सिरियाली विपक्षी परिषद्लाई वैधानिकता दिएपछि त्रिपोलीस्थित सिरियाली दूतावास बन्द गरिएको थियो । अहिले दुवै देश कुटनीतिक सम्बन्ध पुनःस्थापना गर्दै राजनीतिक, आर्थिक र सुरक्षा सहकार्य विस्तार गर्ने दिशामा अघि बढेका छन् ।




