जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेको विवादास्पद आणविक नीति परिमार्जन र सैन्य क्षमता विस्तारको योजनाविरुद्ध टोकियोस्थित संसद भवनअगाडि करिब १० हजार नागरिकले विशाल विरोध प्रदर्शन गरेका छन् । जापानको सुरक्षा नीतिमा फेरबदल ल्याउने सरकारको पछिल्लो कदमले त्यहाँको राजनीतिक वृत्त र नागरिक तहमा तरंग पैदा गरेको छ । रक्षामन्त्री सिनजिरो कोइजुमीले आणविक शक्तिबाट चल्ने पनडुब्बी भित्र्याउने विषयमा कुनै पनि विकल्प बन्द नरहेको बताउँदै आएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री ताकाइचीले संसदमा बोल्दै आत्मरक्षा बललाई यस्ता पनडुब्बी उपलब्ध गराउने विषयमा सरकारले ‘ठोस र व्यावहारिक’ रूपमा विचार गरिरहेको संकेत दिएकी थिइन् । यसका साथै, सरकारले यस वर्षको अन्त्यसम्ममा तीनवटा प्रमुख सुरक्षा दस्तावेज अद्यावधिक गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार, यस क्रममा जापानको ‘तीन गैर–आणविक सिद्धान्त’ सम्बन्धी शब्दावली नै परिमार्जन हुन सक्ने डरले नागरिक समाज सशंकित बनेको छ । शुक्रवारको प्रदर्शनमा सहभागी वक्ताहरूले वर्तमान सरकारको सैन्यीकरणतर्फको झुकावले छिमेकी मुलुकहरूसँगको तनाव बढाएको र क्षेत्रमा सुरक्षा संकट निम्त्याएको दाबी गर्नुभयो ।
This website uses cookies.