भूमध्यसागरीय क्षेत्रका साझा चुनौती समाधान, क्षेत्रीय सहकार्य विस्तार र शान्ति स्थापना गर्ने उद्देश्यले युरोपेली तथा मध्यपूर्वी मुलुकका प्रतिनिधिहरूले छलफल गरेका छन् । भूमध्यसागरका लागि संघ (युफएम) का ४३ सदस्य राष्ट्रका प्रतिनिधिहरू बुधवार आयोजित ११औँ क्षेत्रीय मञ्चमा सहभागी हुँदै क्षेत्रीय समस्या र साझा चुनौतीबारे छलफल गरेका हुन् । युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलास र जोर्डनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री अयमान सफादीले संयुक्त रूपमा मञ्चको अध्यक्षता गरेका थिए । स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले क्षेत्रीय संवाद र सहकार्यका लागि युफएम महत्त्वपूर्ण माध्यम भएको बताए । यसले क्षेत्रीय विश्वास पुनःस्थापना गर्दै शान्ति कायम गर्न सहयोग पु¥याउने उनको भनाइ थियो ।
‘क्षेत्रमा शान्ति पुनःस्थापना गर्न आवश्यक विश्वास निर्माण गर्ने उद्देश्यसहित युफएम संवाद र सहकार्यको उपयोगी माध्यम बन्नुपर्छ,’ उनले भने ।
उनले क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय कानुनको सम्मानप्रति स्पेनको प्रतिवद्धता पनि दोहो¥याए । मञ्चको साइडलाइनमा आयोजित पत्रकार सम्मेलनमा जोर्डनका विदेशमन्त्री सफादीले प्यालेस्टाइन समस्या समाधान नै क्षेत्रीय शान्तिको प्रमुख आधार भएको बताए । उनले दुई राष्ट्र समाधानको सिद्धान्तका आधारमा प्यालेस्टाइन समस्या समाधान गर्नु नै शान्ति स्थापनाको एकमात्र बाटो भएको उल्लेख गरे । त्यस्तै, आप्रवासनको विषयमा बोल्दै स्पेनी विदेशमन्त्री अल्बारेसले भूमध्यसागरीय क्षेत्रको इतिहास र समृद्धिसँग आप्रवासन जोडिएको बताए । आप्रवासीहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने वा भूमध्यसागरको एक पक्षले अर्को पक्षविरुद्ध हतियारका रूपमा उपयोग गर्ने प्रवृत्तिप्रति उनले सचेत गराए । उनले पछिल्लो समय जटिल बन्दै गएका हाइब्रिड सुरक्षा चुनौतीका बीच आप्रवासीलाई राजनीतिक दबाबको माध्यम बनाउन नहुनेमा जोड दिए । युरोपेली संघकी विदेश नीति प्रमुख कलासले पनि युफएमका सदस्य राष्ट्रहरूबीच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको बताइन् । भूमध्यसागरका लागि संघ सन् २००८ मा क्षेत्रीय सहकार्यलाई नयाँ गति दिने उद्देश्यले स्थापना गरिएको संगठन हो । यसले युरोप, उत्तर अफ्रिका र मध्यपूर्वका देशहरूबीच संवाद तथा सहकार्य प्रवद्र्धन गर्दै आएको छ ।





