चीन, मंगोलिया र रुसलाई जोड्ने अन्तर्राष्ट्रिय यात्रुवाहक रेल सेवा सञ्चालनमा आएको छ । बेइजिङदेखि रुसको इर्कुत्स्कसम्म सञ्चालन हुने नयाँ रेल सेवाको पहिलो रेल बिहीवार स्थानीय समयअनुसार दिउँसो २ः३५ बजे मंगोलियाको राजधानी उलानबाटरस्थित रेल स्टेसन पुगेको छ । चीन–मंगोलिया–रुस अन्तर्राष्ट्रिय यात्रुवाहक रेल सेवा (भी३–४) अन्तर्गत पहिलो रेल उलानबाटर पुगेपछि तीन देशबीचको सीमापार यात्रुवाहक रेलमार्गको मध्य खण्ड सञ्चालनमा आएको हो । यससँगै तीनै देशबीच प्रत्यक्ष स्थलमार्गबाट यात्रु आवागमनको सम्पर्क स्थापित भएको छ । कुल दुई हजार ६६६ किलोमिटर दूरीको यो रेल यात्राका लागि करिब ५५ घण्टा लाग्नेछ । रेलले चीन, मंगोलिया र रुस हुँदै यात्रा गर्नेछ । यात्राका क्रममा चीनको एरेनहोट, मंगोलियाको जामिन–उद र सुखबातर तथा रुसको नौस्की नाकामा सीमा जाँच र अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरिनेछ । नयाँ रेल सेवा सातामा एकपटक दुवैतर्फ सञ्चालन हुनेछ । बेइजिङबाट इर्कुत्स्क जाने भी३ नम्बरको रेल प्रत्येक बुधवार बिहान ७ः२७ बजे बेइजिङ रेल स्टेसनबाट प्रस्थान गर्नेछ । त्यस्तै, इर्कुत्स्कबाट बेइजिङ फर्कने भी४ नम्बरको रेल प्रत्येक शनिवार बिहान ६ः५८ बजे प्रस्थान गर्ने तालिका रहेको छ । नियमित रेल सेवाले तीन देशबीच यात्रु आवागमनलाई सहज बनाउनुका साथै क्षेत्रीय सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन र नागरिकस्तरको आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




