काठमाडौं ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले राज्यले गरिब, निमुखा र कमजोर वर्गको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित युवा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान राज्य व्यवस्था र बजेटको स्वरूपमाथि गम्भीर प्रश्न उठाउनुभएको हो । अध्यक्ष परियारले हालैको बजेट वामपन्थी विचारधारा अनुकूल नभएको र यसले गरिब जनताको हित संरक्षण गर्न नसकेको टिप्पणी गर्नुभयो । बजेटले आम नागरिकमा आशा जगाउन नसकेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले गर्ने राजनीति र आन्दोलन सधैँ कमजोर र उपेक्षित वर्गकै अधिकारका लागि लक्षित हुने स्पष्ट पार्नुभयो ।राज्यको उत्पत्ति र सामाजिक करारको सिद्धान्तबारे चर्चा गर्दै अध्यक्ष परियारले राज्य केही टाठाबाठा वा षड्यन्त्रकारीहरूको मात्र हुन नसक्ने बताउनु भयो ।
यदि राज्यले महिला र विपन्न नागरिकको सुरक्षा तथा संरक्षण गर्न सक्दैन भने त्यस्तो राज्यको औचित्यमाथि प्रश्न उठ्ने उहाँको तर्क छ । १५ औँ–१६औँ शताब्दीको प्रबुद्ध युगदेखि परिकल्पना गरिएको न्यायपूर्ण राज्य निर्माणका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो ।प्रगतिशील लोकतान्त्रिक पार्टीले युवाहरूलाई राजनीतिक रूपमा सचेत र वैचारिक रूपमा सबल बनाउने उद्देश्यले उक्त प्रशिक्षण भेलाको आयोजना गरेको हो । सो अवसरमा अध्यक्ष परियारले समतामूलक समाज निर्माणका लागि युवाहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।




