काठमाडौ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गर्नुभएको हो । उहाँले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको स्पष्ट पार्नुभयो । सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उहाँले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । मधेस र पहाडको सम्बन्धका बारेमा चर्चा गर्दै परियारले दुई क्षेत्रबीच केवल सद्भाव मात्र नभई ‘समभाव’को आवश्यकता रहेको औंल्याउनु भयो । उहाँले गरिब, सुकुम्बासी, मजदुर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्त्वपूर्ण हुने भन्दै उहाँले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरी लगायतका नेताहरूले गरेको सङ्घर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो ।
अध्यक्ष परियारले भन्नुभयो, ‘२००७ सालदेखिको निरन्तर सङ्घर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, सङ्घीयता र सामाजिक न्यायको पक्षमा यो मोर्चा सधैँ उभिनेछ । यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिहरूमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ । सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन । आवधिक निर्वाचनबाट आएको ५ वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्थाहरू र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन । जुन दिन जनताको धैर्य टुट्छ र उनीहरू जाग्छन्, त्यो दिन बालुवाटार र सिंहदरबार धेरै टाढा हुनेछैनन् ।’
अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि यो तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताउनु भयो । अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर सङ्घर्ष जारी राख्ने संकल्प गरेको छ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।




