मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह

काठमाडौ ।  आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको हो । अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उल्लेख गर्नुभयो । नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उहाँले प्रष्ट पार्नुभयो । साहकाअनुसार यो मोर्चा हिमाल, पहाड र मधेसको साझा प्लेटफर्मका रूपमा रहनेछ । उहाँले नेपालमा राजनीतिक स्थायित्व नहुने र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्तिको अन्त्य गर्दै यो मोर्चालाई दीर्घकालीन रूपमा अगाडि बढाउने संकल्प गर्नुभयो । मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले किसान, व्यापारी र उद्योगीहरू निराश रहेको र युवा शक्ति विदेश पलायन भइरहेको बताउनु भयो । उहाँले सरकार र सत्ता फेरिए पनि काम गर्ने संस्कार र प्रवृत्ति नफेरिएको भन्दै वर्तमान सरकारले जनतालाई ढाँटेको आरोप समेत लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘देश निरन्तर संकटको यात्रामा छ । ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन ।

विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा साहले निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान समेत गर्नुभयो । उहाँले यो मोर्चा विभाजनको चक्रबाट मुक्त रहने र नेपाली राजनीतिको विकृति अन्त्य गर्ने ऐतिहासिक अभिभारा पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार