छठ पर्वले प्रकृति र विज्ञानसँग मानवलाई जोड्छ : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

छठ पर्वले प्रकृति र विज्ञानसँग मानवलाई जोड्छ : मन्त्री भट्टराई

नितेश कर्ण

वीरगन्ज, ५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेशकुमार भट्टराईले प्रकृति, विज्ञानसँग मानवलाई जोड्ने पर्वको रूपमा छठलाई नेपाल सरकारले लिएको बताउनुभएको छ ।

एक प्रदेश–एक सांस्कृतिक पर्व अन्तर्गत प्रदेश नं. २ को साझा पर्वको रूपमा मनाइने छठ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरी धूमधामसँग मनाइने गरेको मन्त्री भट्टराईले बताउनुभयो ।

देशमा सङ्घीयता आएपछि तीनवटै सरकारले समन्वय गरी साझेदारी कार्यक्रम अन्तर्गत धर्म, संस्कृति जगेर्ना गर्ने उद्देश्यले तथा संविधानमा उल्लिखित बुँदा स्विकार्दै देशभरि कार्यक्रम गर्दै आएको बताउनुभयो ।

मन्त्री भट्टराईले कोभिड–१९ को कारण यसपालिको छठ प्रभावित भए पनि स्वास्थ्य मापदण्ड अनुसार पर्व मनाउन आग्रह गर्नुभयो । पहाड र मधेसका समुदायलाई जोड्ने छठ पर्व अहिले देशको कुनाकुनामा फरक–फरक समुदायका मानिसहरूले मनाइरहेको चर्चा गर्नुभयो । उहाँले राष्ट्रिय एकता जोगाउन छठ पर्वले अहम् भूमिका खेलेको पनि बताउनुभयो ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले छठलाई कृषि तथा प्रकृति आधारित पर्वको रूपमा प्रदेश सरकारले लिएको बताउनुभयो । उहाँले सबैको आस्था, साझा सहभागिता र प्रदेशभरि मनाउने छठ पर्वलाई व्यवस्थित गर्न प्रदेश सरकारले विभिन्न योजनासमेत ल्याउने बताउनुभयो ।

स्थानीय सरकारसँग समन्वय गरी व्रतालुहरूलाई आवश्यक परे साधन जुटाउनसमेत निर्देशन गरेको मुख्यमन्त्री गद्दीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद प्रदीप यादवले प्रदेश २ लाई धार्मिक र सांस्कृतिक पर्यटनको रूपमा विकसित गर्न नेपाल सरकारसँग माग गर्नुभयो । नेपाल सरकारले विकाससँगै धर्म र संस्कृतिलाई अपहेलना गरेको उहाँको आरोप थियो।

वीरगंज महानगरका प्रमुख विजय सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख जगरनाथ जैसवाल, प्रदेश सांसद सिंहासनसाह कलवार, राजेश्वर साह, ओमप्रकाश शर्मा, भीमा यादव, पारस साह र सङ्घीय सांसद पुष्पा कर्णलगायतको उपस्थिति थियो।

प्रदेश सरकार, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय जनकपुरको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा भएको कार्यक्रमको सञ्चालन सलाउद्दीन अहमदले गर्नुभएको थियो । हिन्दूहरूको महान् पर्वबारे पत्रकार चन्द्रकिशोर झाले विश्लेषण गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);