ओलीको विकल्पको सरकार : आफैं धामी आफैं बोक्सी बनेका प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ओलीको विकल्पको सरकार : आफैं धामी आफैं बोक्सी बनेका प्रचण्ड

काठमाडौं, २७ चैत। जोडजाड गरेर सत्तामा छिरिहाल्ने सत्तावादी चिन्तनकै कारण यतिबेला मुलुकको राजनीति बन्दी बन्दै गएको छ । सत्तामा नगए आफ्नो पहिचान नै हराउने चिन्तनले यतिबेला मुलुकका राजनैतिक दलहरु ग्रस्त देखिएका छन् । जसले मुलुकको अग्रगमनका कदम टक्क रोकिएका छन् । लोकतन्त्र बिलखबन्दमा परेको छ, राजनीति अन्यौलग्रस्त अँध्यारो सुरुँगमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारका विरुद्धमा यतिबेला माओवादी केन्द्र मोर्चा निर्माणको तयारीमा अगाडि बढेको छ । कुनैपनि शर्तमा ओली सरकारको पतन यतिबेला माओवादी केन्द्रको प्रधान एजेण्डा बनेको छ । तर, माओवादी केन्द्रको दुर्भाग्य नै भन्नु पर्दछ ओली नेतृत्वको सरकारको टेको पनि ऊ आफैं बन्न पुगेको छ । यस अर्थमा प्रचण्ड यतिबेला वर्तमान सरकारका मामिलामा आफैं धामी आफैं बोक्सी जस्ता देखिएका छन् ।

ओली सरकारक ढाल्नका लागि सरकारलाई दिएको समर्थन बोकेरै बिभिन्न दलका नेताका जस्केला धाउँदै हिंडेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यो पछिल्लो नाटकीय राजनीतिकै कारण पनि मुलुकको राजनीति कुन बाटो हिंड्दै छ भन्ने स्पष्ट हुन सकेको छैन ।पछिल्लो समय प्रचण्डको सत्ताप्रतिको आशक्ति चुलिंदै गएको देख्न सकिन्छ । यतिबेला प्रचण्डले सत्ताका लागि सुरु गरेको दौडधुपलाई हेर्दा उनी सत्ताको माखे साँग्लोमा नराम्ररी जेलिएको देख्न सकिन्छ ।

जोडजाड गरेरै भएपनि पुनः सत्ताको ताला साँचो आफ्नै हातमा लिन चाहन्छन् । जसका कारण मुलुकको राजनीति नै अन्यौलग्रस्त अवस्थामा पुगेको छ । मुलुकका प्राथमिकतामा परेका एजेण्डा गौण बने भने, जुनसुकै शर्तमा जनताको चासोमै नपरेका सत्ता र शक्ति आर्जन हुनै पर्ने बिषय प्राथमिकतामा परेका छन् । राजनैतिक तहमा देखिएको यो सत्तामोह कै कारण यतिबेला लोकतन्त्र नै भीरमा पुग्ने स्थितिमा आएको छ । योसँगै दल र तीनका नेताहरुको पछिल्लो निरिहताले मुलुकले सधैं यिनको बोझ कति बोकी रहने भन्ने प्रश्न पनि उठ्न थालेको छ । राजनितीक नेताहरुमा देखिएको पद र प्रतिष्ठाको आशक्तिको जाँतोमा यतिबेला दलहरु नै पिसिई रहेका छन् ।

दल विशेषका नेताका लागि प्रधानमन्त्री ओली प्रिय नहोलान्, तर यसो भन्दैमा मुलुकको राजनीतिलाई नै आफ्ना स्वार्थका लागि गिजोल्नु कहाँ सम्मको नैतिकता हो ? यतिबेला सरकारको विरुद्धमा माओवादी केन्द्र जे जसरी लागेको छ, त्यो र त्यसले सुरु गरेको विरोधको परिवेश हेर्दा भने माओवादी केन्द्र र यसका अध्यक्ष प्रचण्ड टिठ लाग्दो पात्रका रुपमा नेपाली राजनीतिक परिवेशमा देखा परेकाछन् । हिजो जुनबेला माओवादी केन्द्रको भविष्यलाई लिएर माओवादी केन्द्रका कार्यकर्तामा जुन चिन्ताका रेखाहरु देखिएका थिए, तीनलाई मेटाउने तारणहारका रुपमा एमाले अध्यक्ष ओली नै देखा परेका हुन् ।

स्थानीय निर्वाचनमा नेपाली काँग्रेससँग जोडिएर सहभागी भएको माओवादी केन्द्रले असफलता पाएसँगै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग गर्धन जोडेकै कारण अहिले यो स्थितिमा आईपुगेको हो । तर, माओवादीले आफ्नो अस्तित्व रक्षा गरिदिएकोमा ओली प्रति कृतज्ञ हुनुपर्ने आवश्यकता नै ठानेन । अर्को उदेकलाग्दो कुरा त के हो भने, सरकारका विरुद्धमा विकल्प खोज्दै हिंडेका प्रचण्ड वास्तविकतामा सरकारलाई भने आफैंले टेको लगाएर टिकाएका छन् ।

कँही नदेखिएको जात्रा हाँडिगाउँमा भने झैं,मुलुकको वर्तमान राजनीतिमा देखिएको यो घटना विरलै देख्न पाईएला । यतिबेला प्रचण्ड, एमाले अध्यक्ष ओलीसँग फुट्न पनि नसक्ने र जुट्न पनि नसक्ने उदेक लाग्दो अवस्थामा देखिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिए चुनावमा जानुपर्ने हुनसक्छ । आफ्नै कारणले गुमेको दलको प्रतिष्ठाका कारण अहिले नै चुनावमा गए तन्नम हुने चिन्ताले दाहाललाई यतिबेला चिथोरी रहेको सहजै बुझ्न सकिन्छ ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन नसक्ने र अविश्वासको प्रस्ताव ल्याउने गणितीय हैसियत पनि नभएको स्थितिमा रहेका प्रचण्डको यो राजनीतिक निरीहताको हबिगत हेर्न लायक बनेको छ । प्रचण्डको यो निरिहतालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संसदमै चौथो ठूलो दलका रुपमा रहेको जनता समाजवादी पार्टी(जसपा) यतिबेला डिलमा बसेर तमाशा हेरिरहेका छन् । प्रचण्डको राजनैतिक अवसरबाट पटक पटक पीडित भएका कांग्रेस र जसपा उनको यही विगतकै कारण निरिह बनेकोमा भित्रभित्रै खुशी नै होलान् ।

तर देश जनताप्रतिको जवाफदेहिता बोकेका दलहरुले अहिले तमाशा हेरेर दिन काट्ने अवस्थामा मुलुक छैन भन्ने पनि बुझ्न आवश्यक छ । मुलुकप्रति जवाफदेही रहेका जिम्मेवार दलहरुका लागि प्रचण्डको यही आरोह अवरोह र बिग्रँदो राजनीतिलाई सही बाटोमा ल्याउनु पर्ने जिम्मेवारी पनि उत्तिकै छ । यसका लागि सत्ताको लिगलिगकोटे दौडभन्दा सरकारलाई नयाँ जनादेशमा जान बाध्य बनाउने परिस्थितिको सिर्जना गराएर राजनैतिक स्थिरताको बाटो खोल्नु नै बुद्धिमत्ता पूर्ण निर्णय ठहर्छ । जसका लागि जिम्मेवार पार्टीहरुको पहल यतिबेला अनिवार्य नै भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);