राजनीतिको धमिलोमा माछा मार्न खोज्दै सत्ताका खेलाडी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजनीतिको धमिलोमा माछा मार्न खोज्दै सत्ताका खेलाडी (भिडियोसहित)

दुईतिहाई निकटको सत्तारुढ दलले प्राविधिक रुपमा बहुमत गुमाए लगत्तै मुलुकमा सत्ता राजनीतिको भागदौड शुरु भएको छ । सत्तामा जानका लागि हिजोसम्म प्रतिपक्षमा बसेका राजनैतिक दलहरुमा गणितको चलखेल पनि शुरु भएको हो । मुलुकमा राजनीति अस्थिर हुनासाथ सत्ताको दलालीमा लाग्ने प्रवृत्ति बोकेका राजनैतिक नेतृत्वहरुमा यतिबेला नजानिंदो उत्साह समेत देखा परेको छ । सर्वोच्च अदालतले गत आईतबार दिएको एउटा फैसलाकै कारण बहुमतसहित सत्तामा पुगेको दल दुई चिरामा विभक्त भई एमाले र माओवादी केन्द्रक रुपमा पुरानै स्वरुपमा फर्किएसगै यतिबेला सत्ता दौड शुरु भएको हो ।

तथापि सत्तामै रहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छैन, उसका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई समेत फिर्ता नगरिसकेको स्थितीमा यतिबेला वर्तमान केपि शर्मा ओली नेतृत्वको सरकार बहुमत मै छ । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीबिचको आन्तरिक संघर्षका कारण माओवादी केन्द्रले जुनसुकै बेला पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकै कारण प्रतिपक्षमा बसेकाहरुमा एकाएक सत्ताको रन्को शुरु भएको हो ।

पछिल्लो प्रकरणमा सत्ताका लागि बढि भागदौडमा ६ वटा बिभिन्न मधेशवादी पार्टीहरु एकिकृत भई बनेको जनता समाजवादी पार्टी जसपा सक्रिय देखिएको छ । सत्ता समिकरण गरेर अगाडि बढ्ने दौडमा लागेको जसपाको नेतृत्वतहमा भने समिकरणका साझेदारका बिषयमा भने मतैक्यता पाईंदैन । पार्टीका शीर्षतहका नेता महन्थ ठाकुर र राजेन्द्र महतो वर्तमान ओली सरकारलाई नै समर्थन दिएर यसैको निरन्तरतामा आगामी निर्वाचन गराएर जानुपर्ने लाईनमा रहेका छन् ।

तर उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको खेमा भने ओली इतर खेमासँग समिकरण बनाएर जाने, ओली सरकारको निरन्तरता कुनै हालतमा पनि स्विकार्य नहुने अडानमा छन् । वामपन्थी राजनीतिबाट आफुलाई नेपाली राजनीतिमा स्थापित गरेका डा. बाबुराम भट्टराई र स्वयं अर्का नेता उपेन्द्र यादव यतिबेला ओली नेतृत्वको वामपन्थी सरकारकै विरुद्धमा रहनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

जसपाको नेतृत्वमा रहेका गैरकम्युनिष्टहरुले ओली सरकारबाटै आफ्ना एजेण्डा सम्बोधन हुने विश्वास राखिरहँदा कुनैबेला एमाले नै रहेका जसपाकै अर्का नेता यादव र बामपन्थी राजनीतिकै कारण मुलुकमा स्थापित भएका डा. भट्टराईले वर्तमान सरकारसँगको सहकार्यलाई स्विकार गर्न नसक्नुले उनीहरुको राजनैतिक नियत र निष्ठामाथी नै यतिबेला प्रश्न उठाईन थालिएको छ । यद्यपी बेला बेलामा मधेशका एजेण्डा र मुद्दाको राग अलापेरै आफ्नो राजनीतिलाई टिकाएर यहाँसम्म ल्याई पु¥याएका मधेशवादी नेताहरु पटकपटक सत्तामा पुगेका छन् ।

दर्जनौ पटक आफ्ना एजेण्डा कार्यान्वय गर्ने तहमै पुगेपनि सत्तामा रहुन्जेल यिनले आफ्ना एजेण्डा र मधेशका मुद्दाका सवालमा सिन्को नभाँचेको विगतलाई हेर्ने हो भने मधेश यिनका लागिसत्ता भँजाउने एउटा साधन मात्रै बन्न पुगेको स्पष्ट छ । यस्तोमा पछिल्लो कडिका रुपमा जसपा र यिनको नेतृत्वले आफ्ना मागमा थप गरेको अर्को बिषय हो, कैलालीका सांसद रेशम चौधरीको रिहाई । टिकापुर घटनाका प्रमुख योजनाकारका रुपमा अदालतले सजाय सुनाएका सांसद रेशम चौधरीलाई सरकारले चाहेर पनि उनिहरुको माग अनुसार रिहा गर्न सक्दैन ।

नेपालमा प्रचलित कानुनी ब्यवस्थाका बारेमा यी मधेशवादीहरु अनभिज्ञ छन् भन्नै सकिन्न । स्पष्ट छ, उनिहरुले यतिबेला रेशम चौधरीको भावनालाई सत्तामा पुग्ने खुड्किलोका रुपमा प्रयोग गर्न खोजेको स्पष्ट छ । उनिहरुको यो चालसँग स्वयं रेशम कति विज्ञ छन् त्यो उनैलाई थाहा होला । तर देखिएका अनुहारलाई हेर्दा यिनको यो प्रवृत्तिसँग बहुसंख्यक नेपालीहरु परिचित छन् । पछिल्लो समय मुलुकमा विकसित राजनैतिक घटनाक्रमका कारण सरकार अस्थिरता तर्फ बढेको आभाष पाउनासाथ सत्ताको दौडमा लागेका जसपा नेताहरु सत्ता भागबण्डाको ‘बार्गेनिंग’ मा सक्रिय भएर लागेका छन् ।

तर, यो भागदौडसँगै उनिहरुमा रहेको आफुबाहेक अरुलाई नेता नै स्विकार गर्न नसक्ने प्रवृत्ति र दलहरुलाई हेर्ने पुर्वाग्रही दृष्टिकोणकै कारण कतै यिनीहरुकै चरित्रका कारण मुलुकले थप अर्को राजनैतिक दुर्घटना त खप्नु पर्ने हैन भन्ने प्रश्न समेत उठाईन थालिएको छ । सत्तासाझेदार खोज्ने नामा जसपा नेतृत्वभित्र बढेको द्वन्द्वकै कारण पटकपटक जोडिंदै गाँसिंदै आएको मधेशवादी दलहरुको एकता नै धरापमा परेको त हैन भन्ने आशंका पनि गर्न थालिएको छ ।

र योसँगै वर्तमान सरकारकै निरन्तरताका लागि यसैसँग समिकरण गर्नुपर्ने अडानमा रहेका पार्टीका वरिष्ठ नेता महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोले लिएको अडानकै विपरित मोर्चाबन्दी सुरु भएको छ । उपेन्द्र र भट्टराईको ओली विरोधी अडानका पछाडि कस्को निहीत स्वार्थ लुकेको छ त्यो पनि यतिबेला खोजीको बिषय बन्न पुगेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);