विश्वासघातको घेराबन्दीमा नेपाली राजनीति (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

विश्वासघातको घेराबन्दीमा नेपाली राजनीति (भिडियाेसहित)

विश्वमै अत्यन्तै खर्चिलो लोकतन्त्रलाई ब्योहोर्न बाध्य बनेका नेपाली लोकतन्त्रको स्थायित्वको चिन्तामा डुबेकै बेला दलहरुमा देखिएको अराजक गतिविधीले झन् चिन्ताग्रस्त बनेका छन् । १७ हजारभन्दा बढीको ज्यान लिएर स्थापित भएको संघीय गणतन्त्रात्मक शासन पद्दतीले मुलुक र मुलुकवासीको अपेक्षा पुरा गर्ने विश्वास लिईएको भएपनि पछिल्ला दिनहरुमा लोकतन्त्र हाँक्ने जिम्मेवारी बोकेका दलहरु भित्रकै आन्तरिक किचलोले यतिबेला जनताका लागि मुलुकको राजनीति र लोकतन्त्र झनै बोझ बन्न पुगेको हो ।

२०७४ को संसदीय निर्वाचनपछि मुलुकमा राजनैतिक स्थिरता कायम हुने अपेक्षा गरिएको थियो । मुलुकमा वामपन्थी पार्टी एमालेले संसद्मै ठुलो हिस्सामा स्थान ओगट्नु र उसैसँग मोर्चा बनाएर चुनावमा होमिएको माओवादी केन्द्रसमेत एमालेसँग एकता गरेर अगाडि आएपछि बनेको बहुमत निकटको सरकारले देशमा राजनैतिक स्थिरता कायम हुनुका साथै मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने आशा पलाएको थियो । तर दुर्भाग्य नै भन्नु पर्दछ, यो विश्वास धेरै दिन टिक्नै सकेन ।

सत्तारुढ दलभित्रै अस्थिरताका विष वृक्षहरु झांगिन थाले, सरकार विरुद्ध सत्तारुढ दलभित्रैबाट चलखेल शुरु हुन थाले । राजनीतिक स्थिरता र समृद्धिका कुरा मुलुकका लागि मृगमरिचिका जस्तो देखिन थाल्यो । प्रजातन्त्र वा लोकतन्त्र जे जस्तो नामाकरण गरिएपनि हामीले गरेको अन्धानुकरण नै हो । यस प्रसंगमा भन्नै पर्ने हुन्छ, २००७ सालमा हामीले प्रजातन्त्र बहालीका लागि आन्दोलन गर्दै गर्दा युरोपेली राजनैतिक चिन्तनलाई नै प्रजातन्त्रको आधार मानेका हौं ।

त्यसपर्यन्त आजसम्म जेजस्ता आन्दोलन भए ति युरोपले अंगालेको उदारवाद र माक्र्सवादी चिन्तनबाटै प्रभावित वा निर्देशित थिए । पछिल्लो समय स्थापित संघीय लोकतन्त्र स्थापना पछाडि त पश्चिमा मुलुकको सिधा सर्पन बोकेका केही कथित स्वनामधन्य नेपाली राष्ट्रवादीहरुको सकृयताले काम गरेको स्पष्ट नै छ । लादिएको ब्यवस्था, त्यसमाथी दलभित्र शुरु भएको रडाको कै कारण पुनः मुलुक यतिबेला २०६२÷६३ पछिकै जस्तो राजनितिक अस्थिरताको बाटोतर्फ मोडिएको महसुस हुन थालेको छ ।

संसदभित्र रहेका राजनैतिक दलहरु भित्र मौलाएको सत्ताप्रतिको आशक्ती, सत्तारुढ दलभित्रैको सत्ता संघर्षकै कारण यतिबेला विदेशी शक्तीलाई पुनः नेपाली राजनीतिमा खेल्ने अवसर मिलेको छ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरेको सरकारलाई घेराबन्दीमा पार्ने खेल दृष्य अदृष्य तहबाट शुरु भएको छ । बिगतमा सरकार र सरकार सम्बद्ध पार्टीभित्रको कलहमा खुलेरै संलग्न रहेको मित्र राष्ट्र चीन राजनैतिक रुपमा असफल भईरहेकै बेला नेपथ्यबाट अर्को मुलुक भारतले चिहाउन थालेको संकेत मिल्न पुगेको छ ।

भारतको पछिल्लो कदमबारे सम्बद्ध श्रोतहरुले पनि विस्तारै खुलाउन थालेकाछन् । पछिल्ला दिनहरुमा सरकारसँग निकट सम्बन्ध देखाएको राष्ट्रिय जनता पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोको प्रधानमन्त्री ओलीसँगको सामिप्यताको अन्तर्य समेत यतिबेला शंकाको घेरामा परेको छ । नेपाली काँग्रेसले सरकार विरुद्ध माओवादी केन्द्रसँगको सहकार्यमा अविश्वासको प्रस्ताव ल्याउने घोषणा गरे लगत्तै ठाकुर र महतोले भोली गर्ने निर्णयको स्वरुप कस्तो होला ? कौतुहलको बिषय बन्न पुगेको छ । महतो र ठाकुरले यस अघि देखाएको ओलीप्रतिको विश्वास कतै अविश्वासको प्रस्तावमा मतदान हुँदैगर्दा डगमगाउने त हैन ? राजनैतिक विश्लेषकहरुले यतिबेला यस्तै प्रश्न तेस्र्याउन थालेकाछन् ।

Leave a Reply