सत्ताको अशक्तीले सिर्जना गरेको अस्थिरता (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

सत्ताको अशक्तीले सिर्जना गरेको अस्थिरता (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनीधिसभा समक्ष राख्नु भएको विश्वासको मत सम्बन्धि प्रस्ताव खारेज भएको छ । योसँगै बितेका केही समयबाट नेपाली राजनीतिमा देखिंदै आएको उहापोह एक प्रकारले किनारा लागेको छ । मुलुक कोरोना माहामारीमा छट्पटाई रहेका बेला, नागरिक औषधी उपचारको अभावमा अकाल मृत्युको ग्रास बनिरहेको यो अबस्थामा मुलुकका राजनैतिक दलहरु भने सत्ताको हानाथापमा एक अर्का विरुद्ध छिर्के लगाउने खेलमै ब्यस्त छन् । सत्तारुढ दलभित्रैको एउटा खेमा र विपक्षी दलहरुको सत्ता आशक्तीकै कारण राजनैतिक दलहरु कोरोना माहामारी नियन्त्रणमा भन्दा पनि राज्य सत्ता हत्याउने खेलमै बढी केन्द्रीत देखिनु दुर्भाग्य नै मान्नु पर्दछ ।

मुलुक कोभिड–१९ को महामारीको दोस्रो लहरबाट आक्रान्त छ । महामारीको शिकार भएर मृत्यु हुनेहरुको संख्या बढिरहेको छ । नागरिकको जिउज्यानको सुरक्षाको अभिभारा बोकेको सरकार दलहरुले सिर्जना गरेको राजनैतिक चक्रब्युहमा फस्नाले आबश्यक स्थानमा स्वास्थ सेवानै पु¥याउन नसकिरहेको अहिलेको अबस्था छ । यस्तोमा कोभिड–१९ विरुद्धको लडाईंमा देशका राजनैतिक दलहरु नै पक्ष–विपक्षको विवादमा रुमलिएका छन् । जनताप्रतिको उनिहरुको जवाफदेहीता यतिबेला गौण बन्न पुगेको छ, सत्ता प्रधान बिषय बन्न पुगेको छ । कोरोना कै कारण मानवीय क्षति, सामाजिक जनजीवन मात्रै अस्तव्यस्त बनेको छैन, सिंगो मुलुकको अर्थतन्त्र समेत धाराशायी बन्दै गएको छ । यस्तोमा राजनैतिक दुराग्रह, वैचारिक मतभिन्नता र ब्यक्तिगत कुण्ठालाई थाँती राखेर देखिएको राष्ट्रिय संकटमा सबै राजनैतिक दल गोलबद्ध हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको कदमबाट पछिल्लो समय तरल बन्दै गएको मुलुकको राजनीति केही संग्लिने अपेक्षा छ । सत्तारुढ पार्टीभित्रका केही सामान्य विमती बाहेक यतिबेला सरकारलाई विश्वास नै नगर्नुपर्ने त्यस्तो खास कारण कहिंकतै देखिएकै छैन । ओली नेतृत्वको सरकार, राष्ट्रियताको रक्षा र सम्वद्र्धनको प्रश्नमा, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा र राष्ट्रिय स्वाभिमानका बिषयमा बिगतका सरकारका तुलनामा कहिं कतै चुकेको पाईंदैन । सरकारका बितेका यि ३८ महिनाको यो अवधिमा मुलुकमा भएका विकास निर्माणका कामहरु, राष्ट्रिय गौरवका आयोजनाले गरेका प्रगती, २०७२ को विनाशकारी भुकम्पले भताभुंग पारेका संरचना निर्माणमा सरकार कहिंकतै चुकेकै थिएन । ३० बर्ष अस्थिर राजनीतिले वाक्क भएका आम नेपालीलाई स्थिर सरकारको प्रत्याभूती पनि यहि सरकारले दिएको हो । र अहिलेको परिस्थितिमा स्थिरता र स्थायित्वका साथ एकतावद्ध भएर जनताले बुझ्ने गरी सबै एकजुट भएर सबै दल मुलुकको निर्माणमा एक अर्काका सहयोगी भएर लाग्नुपर्ने थियो । तर, विपक्षी दल मात्रै हैन स्वयं सत्ताधारी दलभित्रै बाट सरकारलाई छिमल्न कुनै कसर बाँकी राखिएन ।

गत बर्षान्तबाट कोरोना माहामारीको शिकार बनेको मुलुक अहिले पनि त्यही माहामारीसँग जुधिरहेको छ । तर, सिमित श्रोत र साधनको उच्चतम प्रयोग गर्नमा सरकार कतै चुकेको छैन । विश्व समुदायले कोरोनाविरुद्धको खोपको लागि प्रयास गरिरहँदा दक्षिण एसिया भारतपछि खोप वितरण सुरु गर्ने पहिलो मुलुक बन्न सफल भएर सरकारले नागरिकप्रतिको दायित्व प्रदर्शन गरेकै हो । यस्तै सरकार मुलुकमा सुशासन, शान्ति सुव्यवस्था कायम गर्नमा पनि कहिंकतै चुकेको हैन ।

मुलुकमा वैचारिक, संविधानको स्वीकार्य र पालनाका बिषयमा अनेकन मतान्तर हुनसक्दछन् । तर दलहरुमा देखिएको सत्ताको तिब्र भोक र सत्तारुढ दलभित्रै देखापरेको चरम गुटबन्दीको शिकार यतिबेला प्रत्यक्षतः सरकार भएको देखिएको छ । जनता त्राही त्राही गर्दै गर्दा सरकारकै विरुध्दमा तयार गरिएको चक्रब्युहले यतिबेला मुलुक थप अस्थिरता तर्फ अगाडि बढ्ने संकेत मिल्न थालेको छ, । विगतमा हामीले अस्विकार गरेको र उखालेर रछ्यानमा फ्याँकेको राजनीतिको पुनरावृती भईरहेको छ । जसका लागि आफैंलाई जिम्मेवार ठान्ने राजनितीक दलहरु नै यतिबेला यस्तो विकृतीका संवाहक बनेर देखिएका छन् । दल र तिनका नेतामा यतिबेला देखा परेको यस्तो मनोवृतीका विरुद्धमा कतै जनता आक्रोशको राँको बालेर मैदानमा नउत्रुन्, अहिलेलाई यहि कामना गर्नु वाहेकको अर्को विकल्प पनि छैन ।


Leave a Reply