काठमाडौँ ।
हेटौँडामा छठ पर्व मनाउन राप्ती नदी किनारमा धमाधम तयारी भइरहेको छ । तराई–मधेसससहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वका लागि हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटलाई सिँगारिएको हो । संयुक्त मधेशी सेवा समाज नेपाल र छठ पूजा समारोह समितिको आयोजनामा हुने पूजाका लागि नदी किनारमा सरसफाई, घाट व्यवस्थापन तथा पण्डाल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस वर्ष राप्ती तटमा ५० देखि ६० हजारभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । भक्तजनको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष पण्डालको आकारसमेत विस्तार गरिएको छ । सामूहिक पूजाका लागि २० फिट चौडा र सात सय फिट लम्बाईका ६५ वटा पण्डाल निर्माण गरिएको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिनुभयो । पुजाका क्रममा खोला किनारमा भक्तजनको चाप बढ्ने भएकाले सुरक्षा र व्यवस्थापनमा पनि आयोजकले विशेष ध्यान दिइएको छ । व्रतालुहरू सूर्यलाई अघ्र्य दिन खोलामा जाने भएकाले आवतजावत सहज बनाउन आवश्यक व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।
यस वर्ष छठ पूजा स्थलमा हुने सवारी चाप व्यवस्थापन गर्न नयाँ आवागमन मार्गसमेत निर्धारण गरिएको छ । पैदलयात्रुले राप्ती रोड हुँदै पूजा स्थलमा प्रवेश गर्न सक्नेछन् भने सवारी साधनमा आउने व्रतालु तथा दर्शनार्थीले चौकीटोलस्थित लोकप्रिय होटलको चोकबाट तरकारी मण्डी हुँदै छठ घाट पुग्ने मार्ग प्रयोग गर्नुपर्ने सचिव दासले बताउनु भयो । उक्त मार्ग निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । सवारी साधन पार्किङका लागि तरकारी मण्डी पछाडिको फुटबल मैदानमा व्यवस्था मिलाइएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज शुक्रबार कात्तिक २७ गते व्रतालुले नहाय–खाय विधिबाट पर्व शुरु गर्नेछन् । दोस्रो दिन शनिवार खरना विधि गरिन्छ । तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुनेछ ।




