जसपाको रणनीति,पाए अन्त नपाए लखनेका जन्त | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जसपाको रणनीति,पाए अन्त नपाए लखनेका जन्त

काठमाडौं, २५ चैत । ढिलो गरी नेपाली कांग्रेस सरकारको नेतृत्व लिने निर्णयमा पुग्यो । यद्यपी कांग्रेसको एउटा पक्ष यो निर्णयलाई लिएर उत्साहित देखिंदैन । तर, कांग्रेसको यो निर्णयसँगै विवादकै बीचमा भएपनि नेपाली राजनीतिमा पछिल्लो चरणमा जनता समाजवादी पार्टी जसपाको महत्व एकाएक बढेर गएको छ । सरकार र सरकार ढाल्ने प्रयत्नमा रहेका दुबै पक्षसँगको मोलमोलाईको केन्द्रमा यतिबेला जसपा आईपुगेको छ । योसँगै राजनीतिक लेनदेनमा जसपाको मोलमोलाई क्षमता समेत बढ्दै गएको देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाले सरकारको समर्थन र सरकारमा सामेल हुनका लागि लामै समयदेखि आफ्ना एजेण्डामा मोलतोल गर्दै नै आएको हो । तर, यहि जसपाको अर्को पक्षले सरकार विरोधी मोर्चा बनाउने सम्भावना देखिएका नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकार परिवर्तन गर्नैका लागि आवश्यक पर्ने संख्या पु¥याई दिन र सरकारमा सम्मानजनक स्थान प्राप्तिका लागि मोलतोलमा ब्यस्त देखिएको छ ।

मुलुकका अघिल्ला राजनैतिक घटनाक्रमलाई दृष्टान्तका रुपमा लिने हो भने जसपाको अहिलेको अवस्था र विगत २०५१ ताकाको राप्रपाको अवस्था ठ्याक्कै उस्तै देखिएको छ । तर, २०५१ मा सत्ता समीकरणका लागि तत्कालिन राप्रपाका नेताहरुमा देखिएको त्यो हुटहुटीको परिणाम लगत्तै देखिएको थियो । पार्टी नै चिरा चिरामा विभक्त भएको थियो ।

सत्ता र शक्तिका लागि जस्तो आउँछ, त्यही नै उपभोग गर्ने रणनीतिले पार्टी नै तहस–नहस भएको विगतको राप्रपाको नियती भोग्ने बाटोमा यतिबेला जसपाको नेतृत्वमा रहेका एकथरि नेताहरु सक्रिय देखिएका छन् । जसले पार्टी नै फुटको संघारमा उभिएको संकेत गर्दछ । पार्टीभित्र सरकारको पक्ष र विपक्षमा देखिएका नेता र पार्टीका आधारभुत एजेण्डालाई सत्तासँगको विनिमयको माध्यम बनाउने प्रवृत्तिले यतिबेला जसपामा राम्रै जरा गाडेको देखिएको छ ।

मुलुकमा विकसित पछिल्लो घटनाक्रमलाई हेर्दा अब मुलुक ‘अर्ली ईलेक्सन’मा जानुको विकल्प छैन । स्वयं सरकारको मुड पनि त्यस्तै देखिन्छ । यस्तोमा यतिबेला सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो लगायतको सोच र सरकारका विरुद्धमा जुनसुकै हठकण्डा अपनाउन पनि पछि नपर्ने रणनीति बनाएर बसेका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच जसपा भित्र ठूलै रस्साकस्सी चलेको देखिएको छ । तर, पार्टीको यो पछिल्लो गुटमा सरकारमा पुग्ने र केही भए पनि सुविधा र समृद्धि थप गर्नेबाहेक अर्को उनीहरूको चासो देखिएको छैन ।

जसपाभित्रको यहि चासोका कारण यतिबेला परिवर्तनको आधार बनेका कतिपय एजेण्डा नै ओझेलमा पर्ने सम्भावना समेत बढ्दै गएको छ । नेपालको राजनैतिक परिवर्तनका सम्वाहक बनेका कतिपय नेताको सत्ता र शक्तिमा देखिएको यो पछिल्लो आशक्ति, व्यक्तीगत कुण्ठा र प्रतिशोधमुखी चिन्तनले राजनीति र सरकार दुबैलाई अस्थिर मात्रै बनाएको छैन, राजनीतिलाई नै खरिद बिक्रीको घिनलाग्दो खलो बनाईदिएको छ ।

पछिल्लो समय नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा प्रधानमन्त्रीविरुद्ध विकल्प दिने र सरकार निर्माण गर्ने निर्णय गरेसँगै जसपाको ओलीसँग सहकार्य गर्न हिडेको एउटा पक्ष सरकारलाई आफ्ना अनुचित एजेण्डा पुरा गराउन बाध्य पार्ने रणनीतिमा देखिएको छ । जसपाकै यो दवावका कारण सरकारले वार्ता टोली नै गठन गर्नुपरेको छ । टीकापुर काण्डका नाईकेका रुपमा यतिबेला जेलमा रहेका जसपा सांसद रेशमलाल चौधरीलाई रिहा गर्नै पर्ने जसपाको अडानका कारण सरकार जसपासँग वार्ता गर्न वार्ता टोली नै गठन गर्ने स्थितीमा पुग्न बाध्य बनेको कुरा स्पष्ट छ ।

अहिलेको संसदको गणित हेर्ने हो भने, नेपाली कांग्रेस वा माओवादी केन्द्र मात्रैको प्रयासमा नयाँ सरकार सम्भव छैन । हुनत सत्ताधारी पार्टी एमाले आफै पनि गम्भीर संकटमा छ । एमालेभित्रको असन्तुष्टिसँगै बढेको समानान्तर संगठन निर्माणको क्रमले एमालेलाई समेत एक ढिक्का राखिरहने अवस्था देखिएको छैन ।

पार्टी विचार, नीति र आदर्श केहीलाई पनि नटेकी पार्टी नेतृत्वका विरुद्ध एमालेभित्र चलाईएको यो अभियानकै कारण यतिबेला सरकारलाई नै अस्थिर बनाउने खेल पार्टी भित्रैबाट सुरु भएपछि यतिबेला राजनैतिक वृतमा सत्ताको च्याँखेधर्ना सुरु भएको हो । जसमा जसपाको पछिल्लो रणनीति सरकार र सरकार विरुद्ध रहेका दुबैसँगको मोलमोलाईलाई निरन्तरता दिएर आफूलाई ‘पाए अन्त नपाए लखनेका जन्त’ को प्रवृत्तिको पात्रमा रुपान्तरित गर्दै गएको देखिएको छ ।

तर, यतिबेला सरकार विरुद्धमा लागेका राजनैतिक दलले बुझ्नै पर्ने अर्को राजनैतिक तथ्य के पनि हो भने सत्तारुढ दल नेकपा अहिले नै विभाजन भईहाल्ने अवस्थामा भने पुगेको छैन ।

पछिल्लो चरणमा एमालेभित्रको असन्तुष्ट समूहले सुरु गरेको समानान्तर संगठनको अवधारणालाई नै टेकेर पार्टी फुटीनै हाल्यो भन्नु राजनीतिक अल्पज्ञान ठहर्न सक्दछ । धेरैपछि सत्तारुढ दलले आफूभित्र कम्युनिष्ट शैलीको थोरै अभ्यास सुरु गरेको मात्रै हो । तर यसैलाई लिएर यतिबेला सरकार विरुद्ध सुरु गरिएको यो राजनैतिक वितण्डा मुलतः मुलुकको राजनैतिक वातावरणलाई धमिल्याउने अभिप्रायबाट पे्ररित भएको भन्दा अन्यथा नठहर्ला ।

प्रधानमन्त्री ओलीसँगको व्यक्तिगत रिस राग र पूर्वाग्रहबाट प्रेरित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको यो अभियानमा यतिबेला आफूलाई राजनीतिको दिग्गज भएको दाबी गर्नेहरु पनि सामेल भएर मुलुककै राजनीतिलाई दुर्गन्धित बनाउने जुन प्रयास भईरहेकोे छ त्यसको एक पाटोमा स्वयं जसपा पनि जोडिन आई पुगेको छ ।

विगतमा राजनीतिक अस्थिरताको जडका रुपमा आलोचित हुँदै आएको जसपा र योसँग सम्बद्ध नेताहरुले मुलुकको अहिलेको यथार्थ राजनीतिलाई बुझेर विगतमा आफूमाथि लाग्दै आएको आरोपलाई पुनः पुष्टि नगरिदिए राजनीतिले पनि सही दिशा लिने अपेक्षा गर्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);