काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिको रूपमा लिनुपर्ने बताउनुभएको छ ।
‘अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गर्नुभयो । उहाँले यहाँ फरक मतहरूले स्वतन्त्र रूपमा प्रष्फुटन हुने अवसर पाउनुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता एवं प्रश्न गर्नसक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने धारणा व्यक्त गर्नुभयो । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्काका पूरक भएको चर्चा गर्दै राष्ट्रपतिले राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात गर्नुपर्ने बताउनु भयो । आफूले यिनै लोकतान्त्रिक आदर्श र दर्शनका निम्ति जीवनको महत्वपूर्ण समय सङ्घर्षमा व्यतीत गरेको समेत उहाँले स्मरण गर्नुभयो । सूचना प्रविधिको तिब्र विकास र प्रतिष्पर्धासँगै समाजमा मिथ्या सूचना सम्प्रेषण गरी नागरिकलाई दिगभ्रमित पार्ने चुनौती बढेको प्रति उहाँले सचेत गराउनु भयो । यस्ता चुनौतीहरूको डटेर सामना गर्दै जनतामाझ सत्य र सही सूचना पु¥याउन अनलाइन खबर जस्ता जिम्मेवार सञ्चार माध्यमहरू सफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले सञ्चार क्षेत्रले व्यावसायिक निष्ठा कायम राख्दै नागरिकलाई सुसूचित गर्ने कार्यमा सफलता प्राप्त गर्ने विश्वासका साथ शुभकामना समेत व्यक्त गर्नुभयो ।




