काठमाडौँ । पूर्वमन्त्री एवं पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले मुलुकमा बढ्दै गएको युवा पलायन, भ्रष्टाचार र सुशासनको अभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
‘अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै सिन्हाले नेपाली युवाहरूले स्वदेशमै अवसर र शान्ति सुव्यवस्थाको खोजी गरिरहेको बताउनुभएको हो । सिन्हाले वैदेशिक रोजगारीमा गएका युवाहरूको अवस्था र उनीहरू फर्कंदा भोग्नुपर्ने पीडादायी यथार्थको चर्चा गर्नुभयो । उहाँले गाउँघर रित्तिँदै गएको र नागरिकको दैनिक जीवन झनै जटिल बन्दै गएको भन्दै निराशाका बीच युवाहरूले भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा ओर्लिएर आवाज उठाउनुले उनीहरू मौन छैनन् भन्ने प्रमाणित गरेको उल्लेख गर्नुभयो । वि.सं. २०८२ को संवैधानिक संकटको समयमा सम्माननीय राष्ट्रपतिले निर्वाह गरेको भुमिका र तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले सम्पन्न गरेको निर्वाचनको उहाँले स्मरण गर्नुभयो । १ करोड १२ लाखभन्दा बढी नागरिकको सहभागितामा भएको उक्त निर्वाचनले नेपाललाई विषम परिस्थितिमा पनि लोकतन्त्र धान्न सक्षम राष्ट्रका रूपमा विश्वमा स्थापित गरेको उहाँको तर्क छ ।
सम्बन्धित निकायलाई यस्ता विषयमा गम्भीर र संवेदनशील हुन समेत उहाँले आग्रह गर्नुभयो ।




