काठमाडौँ ।
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादा वा पदभन्दा पनि प्रभावकारी संवाद र शक्ति सन्तुलन महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले उक्त विचार व्यक्त गर्नुभएको हो । नेता महतले मुलुक हाल असहज र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो ।
वि.सं. २०३३ सालमा वीपी कोईरालाले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीतिको सन्दर्भ उल्लेख गर्दै उहाँले राष्ट्रियता र लोकतन्त्र एकअर्काका पूरक भएको बताउनु भयो । आन्तरिक राजनीतिका कमजोरीबारे चर्चा गर्दै डा. महतले पछिल्ला केही घटनाक्रमले नेपाल भित्रैदेखि खोक्रो हुँदै गएको संकेत गरेको बताउनु भयो । गत वर्षको भदौ २३ र २४ गतेका घटनाहरूलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँले नयाँ पुस्ता (जेन–जी) ले सुशासन र इन्टरनेट जस्ता अधिकारका लागि आवाज उठाउँदा पनि नेतृत्वले त्यसलाई सही ढंगले बुझ्न र सम्बोधन गर्न नसकेको तर्क गर्नुभयो । आन्तरिक रूपमा मजबुत नभई देशलाई बलियो बनाउन नसकिने र समस्याहरू थप जटिल बन्दै जाने उहाँको ठहर छ । परराष्ट्र नीतिका सम्बन्धमा डा. महतले कुटनीतिको मुख्य ध्येय राष्ट्रिय स्वार्थको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । पद र मर्यादाको बराबरी खोज्नुभन्दा पनि वास्तविक शक्ति र प्रभावलाई बुझ्नुपर्ने उहाँको भनाइ छ । कुटनीतिमा अहं पाल्नुभन्दा राष्ट्रको हितका लागि लचिलो हुनुपर्ने उल्लेख गर्नुभयो ।




