काठमाडौं, ३० मंसिर । सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थागित भएको छ । प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा कोरम नपुगेपछि स्थागित भएको हो ।
बैठक आजै साँझ ५ बजे बस्ने गरी स्थगित भएको छ । संविधान अनुसार संवैधानिक परिषदमा ६ सदस्य रहनेछन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, र विपक्षी दलका नेता रहनेछन् ।
परिषद्को बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्री सहित ५ जना अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले प्रधानमन्त्री सहित पाँच जना मात्रै परिषद्मा रहेकाले एक जना अनुपस्थित भएमात्रै पनि बैठक बस्न सक्दैन् । बैठकका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा पुग्नुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग लगायतका विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्ती गर्नुपर्ने भएपछि प्रधनमन्त्री ओलीले परिषद्को बैठक आव्हान गर्नुभएको हो । आइतबार बोलाइएको बैठकमा पनि सभामखु सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक सरेको थियो ।