किन बन्न सकेन तराई मधेसमा राजपा पहिलो शक्ति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नवराज कुँवर, काठमाडौं, ७ असोज । प्रदेश नम्बर दुईमा असोज दुई गते निर्वाचन भएकामध्ये अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै राजनीतिक वृत्तमा राष्ट्रिय जनता पार्टी नेपालले पाएको मतपरिणामबारे बहस सुरु भएको छ । आफूलाई दुई नम्बर प्रदेशका जनताको ‘असली प्रतिनिधि’ ठान्ने राजपालाई दुई नम्बर प्रदेशका जनताले वैकल्पिक शक्तिका रुपमा पनि लिएको देखिएन ।

राजपाका नेताहरुले दुई नम्बर प्रदेशका आठै जिल्ला आफूहरुको पकड क्षेत्र बताउँदै आएका थिए । यस आधारमा राजपा दुई नम्बर प्रदेशमा पहिलो नभए दोस्रो शक्ति बन्ने राजपा नेताहरुको अपेक्षा थियो । तर असोज दुई गते सम्पन्न निर्वाचनको मतपरिणामले भने राजपालाई मधेसका जनताले वैकल्पिक शक्तिको रुपमा पनि नलिएको देखाएको छ । अर्थात दुई नम्बर प्रदेशमा पहिलो शक्तिको रुपमा स्थापित हुने त परै जाओस्, राजपा दोस्रो वा तेस्रो पनि हुन सकेन । बरु राजपाले ‘नक्कली मधेसवादी’ भन्ने संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले राम्रो मत पाएका छन् । संघीय समाजवादी फोरमले त राजपालाई नै पछि पारिदिएको छ ।

२०७४ बैशाख ६ गते विभिन्न ६ वटा मधेसकेन्द्रित दल मिलेर राजपाको गठन भएको थियो । ६ पार्टीबीच एकीकरण भएपछि तत्कालीन मधेसी मोर्चा र संघीय गठबन्धनबाट राजपाले संघीय समाजवादी फोरमसँगको गठबन्धन तोडेको थियो । त्यसयता संघीय समाजवादी फोरमलाई मधेसी जनताको भावनाविपरित हिँडेको भन्दै ऊसँग राजपाले कुनै सहकार्य समेत गरेन । तर अहिले दुई नम्बर प्रदेशका जनताले भने राजपाले मधेसी जनताको भावनाअनुसार नहिँडेको आरोप लगाएको पार्टीलाई नै ऊभन्दा बढी विश्वास गरेको देखिएको छ ।

तराई–मधेसका जनताले दिएको मतपरिणामलाई नै आधार मान्ने हो भने अब राजपाले आफूलाई सच्याउनुपर्ने तराईमधेस मामिलाका जानकारहरु बताउँछन् । राजपाले तराईमधेसका जनताले वास्तवमै के चाहेका छन् भन्ने कुरा बुझेर आफ्नो राजनीतिक कार्यदिशा तय गर्नुपर्ने विश्लेषकहरुको सुझाव छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);