आईसीसी यू-१९ : विश्वकप छनोटमा नेपाल यूएईसंग १ रनले पराजित

काठमाडौं, ३० चैत । नेपाल मलेसियामा जारी आईसीसी यु–१९ विश्वकप छनोट एसिया प्रतियोगिताको दोस्रो खेलमा युएईसँग डीरएल मेथडमा १ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो । २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।

जितको लागि युएईलाई २० ओभरमा १ सय २६ रन आवश्यक रहेको बेला वर्षाले खेल रोकियो । त्यसपछि पुनः खेल सुचारू हुन सकेन । खेल पुनः सुचारु नहुँदा डीएल मेथडमा युएई १ रनले अघि हुँदा नेपालले दूर्भाग्यपूर्ण हार व्यहोर्न बाध्य भयो ।

डिएल पार स्कोरमा युएईले ३ विकेट गुमेको अवस्थामा ३० ओभरमा १ सय २१ रन बनाउनुपर्ने थियो । तर, युएईले खेल रोकिदाँसम्म १ सय २२ रन जोडिसकेको थियो । यो हारसँगै नेपालका लागि विश्वकप छनोट सम्भावना कठीन भएको छ ।

यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले पराजित गरेको थियो । तर दोस्रो र प्रतियोगिताको अर्को दाबेदार युएईसँग पराजित भए पछि अब नेपाल यु–१९ विश्वकपमा छनोट हुन बाँकी खेल जित्नु पर्नेछ भने युएईको हारको कामना गर्नुपर्नेछ । नेपालले तेस्रो खेल अगामी बैशाख २ गते मलेसिया संग खेल्ने छ ।

By:

शनिबार, ३० चैत २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!