Mountain Television
Sun, 23 Sep 2018

ज्यान गुमाउनेका आफन्त पनि गोठमै

अछाम, २९ असार । महिनावारी हुँदा छाउगोठमा ज्यान गुमाएका किशोरी तथा महिलाका परिवारका सदस्यले अझै छाउपडी प्रथा छाड्न सकेका छैनन्। अर्थात् उनीहरू महिनावारी हुँदा छाउ गोठमै सुत्ने गरेका छन्।

छाउगोठमा सुतेकै कारण आफ्ना छोरी, बुहारी, दिदी, बहिनीले ज्यान गुमाउँदा पनि यहाँका धेरैजसो महिलाले यो चलन छाड्न नसकेका हुन्। परिवारका सदस्यले छाउगोठमा ज्यान गुमाएको पीडा बोक्दै यहाँका किशोरी एवं महिला महिनावारी हुँदा आफ्नो ज्यान जोखिममा राखेर छाउगोठमै सुत्ने गरेका छन्। कोही आफ्नै घरपरिवार त कोही समाजको दबाब र डरका कारण उनीहरू महिनावारी भएका बेला ज्यानमारा गोठमै सुत्न बाध्य भएका हुन्।

ढकारीकी भर्खर १६ वर्ष पुगेकी लक्ष्मी बुढाले २०६९ मा महिनावारी हुँदा छाउगोठमा सुतिरहेका बेला आगोले जलेर ज्यान गुमाइन्। त्यसपछि उनको परिवार तथा गाउँलेले उनको ज्यान लिने छाउपडी गोठ त भत्काए तर, महिनावारी भएकी महिला घरमा राख्यो भने अनिष्ट हुन्छ भन्ने मनमा गाडिएर बसेको अन्धविश्वास भने अझै भत्काउन सकेका छैनन्।

‘गाउँ समाजका कारणले श्रीमती र बहिनीलाई घरमै राख्न सकिएको छैन। महिनावारी भएका बेला पनि उनीहरूलाई घरमै राखेर गाउँ समाजबाटै एक्लो हुनुभन्दा गोठमै पठाउने गरेको छु।’ मृतक लक्ष्मीका आमा, दिदी–बहिनी तथा कान्छी आमा सबै अहिले पनि महिनावारी हुँदा छाउगोठमै बस्ने गर्छन्। लक्ष्मीको मृत्युपछि आफ्नै गोठ नभए पनि उनीहरू छिमेकीका छाउगोठमा गएर सुत्ने गरेका हुन्।

छाउगोठमुक्त अभियानका क्रममा साविकका गाविसहरूका प्रायः सबै गोठ भत्काएकाले अहिले यहाँका अधिकतम महिला महिनावारी हुँदा खुला आकाशमा पाल टाँगेर बस्ने गरेका छन्। छाउगोठ भत्काइए पनि महिनावारी हुँदा घरमा बस्न नपाइने भएकाले पाल टाँगेर भए पनि छुट्टै बस्ने गरिएको ढकारी निवासी सौंरी विकले बताइन्।

गाज्राकी दिलु तिरुवाले छाउपडी प्रथा मान्ने गलत संस्काका कारण १५ वर्षीया छोरी रोशनी गुमाउनु परेको डेढ वर्ष मात्र बितेको छ। उनको छोरीले २०७३ पुस ३ गते छाउगोठमै सुतेका बेला निस्सासिएर ज्यान गुमाएकी थिइन्। त्यसबेला छोरीसँगै सुतेकी उनेको समेत निस्सासिएर झन्डै ज्यान गएको थियो। छोरीको मृत्युपछि केही समय महिनावारी हुँदा पनि घरमै सुत्ने गरेकी दिलु अहिले पुनः गोठमै फर्किएकी छन्।

‘छोरीको गोठमै ज्यान गएपछि दुई तीनपटक महिनावारी हुँदा घरकै एक कोठामा बस्ने गरेकी थिएँ तर, पछि सासूले नमान्दा अहिले फेरि गोठमै बस्नु परेको छ,’ उनले भनिन्, ‘सासूले कुनै पनि हालतमा घरमा बस्न नदिने भनेपछि उहाँको चित्त दुखाएर बस्न सकिएन।’ दिलु अहिले महिनावारी हुँदा गाउँलेको गोठमा गएर बस्ने गरेकी छन्। कमलबजार नगरपालिका–६, वीरपथकी भगवती ढकाल महिनावारी हुँदा आफ्ना पतिले घरमै बस्न भने पनि गाउँ समाजको डरले गोठमै सुत्न परेको बताउँछिन्।

भगवतीकी सासू डिक्रादेवी ढकालको ०६७ माघमा गोठमा सुतिरहेका बेला ज्यान गएको थियो। यस्तो पीडा हुँदाहुँदै पनि गाउँ समाजकै डरका कारण बाध्य भएर गोठमै सुत्नु परेको भगवतीको भनाइ छ। ‘गाउँ समाजका कारणले श्रीमती र बहिनीलाई घरमै राख्न सकिएको छैन,’ मृतक डिक्रादेवीका छोरा झनकले भने, ‘महिनावारी भएका बेला पनि उनीहरूलाई घरमै राखेर गाउँ समाजबाटै एक्लो हुनुभन्दा गोठमै पठाउने गरेको छु।’ डिक्रादेवीको ज्यान लिने गोठ भत्काइए पनि नजिकै फेरि अर्को गोठ बनाइको छ। जहाँ टोलका सबै महिला तथा किशोरी महिनावारी हुँदा पाँच दिनसम्म बस्ने गर्छन्।

पछिल्लो डेढ दशकमा अछाममा छाउगोठमै बसेका बेला १४ जनाले ज्यान गुमाइसकेका छन्। तर तीमध्ये धेरैजसोका आमा, दिदी–बहिनी महिनावारी भएपछि अहिले पनि छाउगोठमै बस्ने गर्छन्। गाउँ समाजले लगाउने अनेक आरोप–प्रत्यारोप सुन्नुभन्दा पीडा र त्रास बोकेरै भए पनि महिनावारी हुँदा अधिकत्तर महिला ज्यानमारा छाउगोठमै बस्ने गरेका हुन्।

‘कान्छी आमाले गोठमै सुतेका बेला ज्यान गुमाएको देखे पनि गाउँ–समाजका कारण हामीले आफ्ना परिवारका महिलालाई गोठमै पठाउने गरेका छौं,’ वीरपथका जनक ढकालले भने, ‘समाजमा एकरदुई जनाले मात्र चाहेर परिवर्तन नहुने रै’छ।’ जुन गाउँमा महिलाले गोठमा ज्यान गुमाए, त्यो गाउँमा त्यही बेला त छाउपडी गोठ भत्काउने अभियान तीव्र भएको थियो तर, त्यो अभियान विस्तारै सेलाउँदै गयो र पुनः गोठ निर्माण गर्ने क्रम सुरु भयो।

साँघुरो छाउगोठमा धुवाँले निस्सासिएकै कारण धेरै महिलाको ज्यान गएकाले पछिल्लो समय गोठ बनाउँदा हावा छिर्ने फराकिलो र व्यवस्थित बनाउनुपर्छ भन्ने आवाज पनि यहाँ उठ्न थालेको छ। तर यसो गर्दा पनि छाउपडी प्रथाकै संरक्षण हुने भन्दै कतिपयले त्यसको विरोध पनि गर्ने गरेका छन्।

वि.सं २०६२ मा छाउपडी प्रथालाई कुरीति घोषणा गरेको सरकारले छाउपडी उन्मूलनसम्बन्धी २०६४ समेत जारी गरेको थियो। तर सरकारले कुरीति घोषणा गरेको एक दशक नाघिसक्दा पनि छाउपडी उन्मूलन हुन सकेको छैन। संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धि विश्वव्यापी घोषणापत्रले यसलाई अमानवीय चलन भनेको छ भने नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ मा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिलामाथि हिंसा तथा भेदभाव गर्न नपाइने उल्लेख गरिएको छ।

तर यसविपरीत समाजमा धार्मिक परम्पराका नाममा महिलालाई महिनावारी हुँदा भेदभाव र छुवाछूत गर्ने चलन जारी नै छ। मुलुकी अपराध संहिता विधेयक, २०७४ ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गरे वा गराएमा त्यो अपराध हुने उल्लेख गरेको छ। यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

तर पनि सदियौंदेखि समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथा छिट्टै हट्ने देखिँदैन। यद्यपि आउने भदौ ५ गतेबाट छाउपडीविरुद्धको नयाँ कानुन लागू हुने हल्लाले मानिसहरू डराएको अधिकारकर्मी अप्सरा कुँवरको अनुभव छ। अहिले केही स्थानीय तहले गोठमा बस्ने र बस्न बाध्य पार्नेलाई सेवासुविधाबाट वञ्चित गर्ने भनेपछि छाउपडी मान्नेहरू केही हच्किएका छन्। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...