Mountain Television
Wed, 20 Jun 2018

‘पवनकली’ को असली कथा

काठमाडौँ, २७ जेठ । शिक्षकले सोधे, ‘तिमीहरू ठूलो भएपछि के बन्ने ’ बेन्चमा बसेकाहरू पालैपालो उठेर कसैले डाक्टर त कसैले इन्जिनियर बन्ने सपना सुनाउन थाले । कक्षाको बीचमा बसेकी एक नानीले बुनेको सपना भने ती सबैका भन्दा फरक थियो ।
‘आई वान्ट टु वि अ एक्टर,’ उनले यसो भनिरहँदा शिक्षक चूपचाप थिए । तिनी थिइन्, संगीतकार (राजु तुलाधर) की छोरी लुनिभा तुलाधर । बुबाको नाम जोडिएकै कारण उनलाई धेरैले संगीततिर धकेल्ने कोसिस गरे, उनी भने अभिनय गर्न चाहन्थिन् । कलेज पढ्न थालेपछि मात्रै उनले रंगमञ्चको बाटो भेट्टाइन् । कान्तिपुर टीभीको ‘द पवनकली शो’ मार्फत पवनकलीकै छविमा छाइन्, थुप्रै फिल्म खेलिन् ।

यति बेला भने उनी नाटक निर्देशकको अवतारमा आएकी छन् । उनले निर्देशन गरेको नाटक ‘कोरा’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । हालैको भेटमा उनी आफ्नो अभिनय यात्राबारे गफिइन्। रंगकर्मी शिव रिजालमार्फत उनी रंगमञ्चमा तानिएकी थिइन् । जब दशकअघि पहिलो पटक डा. अभि सुवेदीको नाटक ‘आरु फूलका सपना’ मा अभिनय गरिन्, त्यति बेला गुरुकुल नाट्य स्कुल खोलिबसेका रंगकर्मी सुनील पोखरेलको आँखामा परिन् । ‘तिमी थिएटर सिक्छयौ ,’ स्कुलमै सोधिनुपर्ने यो प्रश्न पोखरेलले सोध्दा उनको हर्षको सीमा थिएन् । त्यसपछि उनले झन्डै ७ महिना गुरुकुलमा रंगमञ्च पढिन् ।
यसपछि लुनिभाको कलाकारिता क्यामेरातिर पनि फस्टाउन थाल्यो । रंगकर्मीको परिचय चल्दै गर्दा लुनिभाले टेलिभिजनमा समेत हात हाल्न थालिन् । सन् २००३ मा पहिलो पल्ट ‘होस्टल’ सिरियलमा देखिइन् । कान्तिपुर टेलिभिजनमा ‘पोथी बास्यो’, कार्यक्रम थालिन् । दीपाञ्जली लामाको सहकार्य रहेको कार्यक्रमले लुनिभाको अभिनय स्थापित गरायो । त्यसपछि, लागिन् ‘द पवनकली शो’ तिर, यसले लुनिभाको दोस्रो न्वारन गरिदियो । ‘त्यसपछि म लुनिभा हैन, पवनकलीको रूपमा चिनिन थालें’, उनले सुनाइन् । पश्चिम नेपालको बाग्लुङतिर बोलिने भाषाशैलीबाट प्रभावित भएर ‘पवनकली’ मा उनले अभिनय गर्दै कार्यक्रम चलाउँथिन् । पछि माम्पी घोषले पनि यसैलाई पछ्याइन् ।

काठमाडौंकी स्थानीय नेवार भएर पनि लुनिभाले बाग्लुङको भाषाशैली कसरी टिप्यौ । धेरैको जिज्ञासा हुन्थ्यो । ‘यसको पनि रोचक कथा छ,’ लुनिभाले भनिन् । सानैमा बाग्लुङ जाँदा एकजना आफन्तले ‘कवली खान्छेऊ ’ भनेर सोधेछन् । लुनिभा अलमल परिन् । धेरै समयपछि बुझ्दै जाँदा कवली भनेको त ‘फर्सी’ पो रहेछ । यो किस्साले उनलाई अहिले पनि हँसाउछ । ‘पवनकली पात्र बाग्लुङको हो,’ उनी भन्छिन्, ‘उनकै कारण मैले अभिनयमा नवीन अनुभूति गर्न पाएकी छु ।’ अहिले लुनिभासँग रंगमञ्च, टेलिभिजन सिरियलदेखि सर्ट फिल्म र फिचर फिल्मसम्म काम गरेको अनुभव छ । झन्डै दुई दर्जन बढी सडक नाटक निर्देशन गरेकी छन् । पछिल्लो पटक ‘लाइन’ नाटक निर्देशन गरेर दर्शकको मिश्रित प्रतिक्रिया पाएकी उनले यो पटक तिब्बती शरणार्थीको विषय बोकेको ‘कोरा’ निर्देशन गरेकी छन् ।

रंगमञ्चमा महिला निर्देशकको कमी भएको गुनासो चलिरहँदा लुनिभामा निर्देशनमा आएकी हुन् । उनीसँगै करिअर थालेका साथी चुपचाप रहँदा उनी छक्क पर्छिन् पनि । ‘महिला कलाकार छिट्टै थकित हुन्छन्,’ उनी भन्छिन्, ‘मचाहिँ जसोतसो निरन्तर लागिरहेकी छु ।’ कान्तिपुरबाट

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!