अझै बनेन सुस्ता झोलुङ्गे पुलः ५ वर्षमा जम्मा २५ प्रतिशत काम | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अझै बनेन सुस्ता झोलुङ्गे पुलः ५ वर्षमा जम्मा २५ प्रतिशत काम

जीवन न्यौपाने
फागुन २८, नवलपरासी ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित सुस्ता झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरु अझै पनि जोखिमपूर्ण डुङ्गा यात्रा गर्दै आएका छन् । पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सुस्तावासीहरु भारतीय बाटो प्रयोग गर्दा एसएसबीबाट विभिन्न यातना पनि खेप्दै आएका छन् ।

नारायणी नदी गण्डकले घेरिएको सुस्ता भूमिबाट आफ्नै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ भने वर्षाको समयमा विभिन्न समस्याकाबीच पनि भारतीय बाटो नै प्रयोग गर्न बाध्यात्मक अवस्था रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले जानकारी दिए ।

नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका र सदरमुकाम संग जोड्ने गरि सरकारले ५ वर्ष अगाडि २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिए पनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन ।

वर्षाैदेखि भारतीय यातना खेप्दै र जोखिम पूर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवा गाउँ जोड्न एसियाकै दोस्रो ठूलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।

त्रिशुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा २९ महिनामा सम्पन्न गर्ने गरी २७ करोड रुपैयाँमा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र १ दशमलव ६ मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाइ गर्दै ५ वर्षमा पनि अन्डर ग्राउण्डकै कार्यमा सीमित रहेको छ । ठेकदारले पुलको जग बनाउन कुल २ सय २० वटा पाईल धाँसिनुपर्नेमा ५ वर्ष लगाएर जम्मा २ सय पाईल मात्र धाँसेको छ । यस्तो कछुवा गतिको कार्यले यो पुल बन्न अझै ३-४ वर्ष लाग्छ ।

झोलुङ्गे पुलका लागि नदीमा धाँसिने पाईलिङ्गमा ४ वटा ठुलो अग्लो पिल्लर ठड्याईने छ भने १० वटा सानो पिल्लर ठडयाई झोलुङ्गे पुल बाँधिने कार्य हुने छ । २ वर्षमा सम्पन्न गर्नुपर्ने योजना ठेकेदारले म्याद थप्ने काम मात्र गर्ने र ५ वर्षसम्म पनि पाईलिङ्गकै काममा अल्झि अरु अरु कुनै काम नगरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले आरोप लगाए ।

ठेकेदार कम्पनी वर्षमा २-३ महिना काम गर्ने अनि वर्षभरी विभिन्न बहाना गर्दै गायब हुने गरेको स्थानीयको भनाई छ । ठेकेदार कम्पनीले कहिले लेबरको अभाव त कहिले पानीको उच्च बहाव देखाउँदै काममा ढिलाई सुस्ती गर्दै आएको छ ।

यता पुललाई छिटोछरितो सम्पन्न गराउन सुस्ता गाउँपालिका लागि परेको गाउँपालिकाले जनाएको छ । पुलको काम छोडी एक वर्ष फरार रहेको ठेकेदार कम्पनीलाई सुस्ता गाउँपालिकाले सम्बन्धित निकायबाट दबाब दिलाई पुनः पुलको निर्माण कार्यमा लगाएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिकाले पुलको नियमित निरीक्षण र आइपर्ने समस्याहरुको समाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकेदार कम्पनीलाई ताकेता गर्दै आएको अध्यक्ष पाण्डेले बताए ।

सुस्ता पुग्न एक मात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभूमि पुग्न नदीमा करिब २ दशमलव ५ किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नुपर्दछ । उक्त यात्रा बाढीको समयमा २ घण्टा र सुख्खा समयमा करिब १ घण्टा लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाइँदैन जसका कारण यहाँका स्थानीय विहारको बाटो हुँदै आवतजावत गर्न बाध्य भएको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले दुःखेसो पोखे ।

सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढी छ । करिब ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भूमि वर्षौं देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुँदै हाल १४ हजार ४ हेक्टर क्षेत्रफल अतिक्रमण भइसकेको छ र १९ हजार ५ सय ८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);