काठमाडौं, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठक पनि अवरुद्ध गरेको छ । कांग्रेसका सांसदहरुको अवरोध पछि सभामुख अग्नि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नु भएको छ । प्रतिनिधि सभाको अर्को बैठक माघ २८ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सरकारको निर्देशनमा पुर्वाग्राही बनेर आफना पार्टीका उपसभापति बिजय कुमार गच्छदार बिरुद्ध प्रतिसोधका आधारमा मुद्दा दायर गरेको आरोप लगाउदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले गच्छदारलाई मुद्दा हालेर सयौं दोषीलाई उन्मुक्ति दिएको आरोप लगाउँदै आएको छ ।सरकारले कांग्रेस नेताहरुलाई नियोजित रुपमा फसाउने नीति लिएको दावी कांग्रेसको रहेको छ ।
गच्छदारविरुद्धको मुद्दाको विषयलाई लिएर गत बिहीबार र शुक्रवार पनि कांग्रेसले सदन चल्न दिएको थिएन। गत बुधबार अख्तियारले गच्छदारसहितका ३ पूर्वमन्त्री, ३ पूर्वसचिवसहित १ सय ७५ जनालाई विशेष अदालतमा ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो।
०००




